२६ चैन, ढाका ।

बङ्गलादेशमा सडक दुर्घटनामा परी बिहीबार २४ जनाको ज्यान गएको छ । सो दुर्घटनामा अरु २२ जना गम्भीर घाइते भएका छन् ।

bangladesh road accident

प्राप्त पछिल्लो समाचारअनुसार बङ्गलादेशको मध्य भागमा पर्ने फारिदपुर जिल्लामा सो दुर्घटना भएको हो । बस सडकबाट खोँचमा खसेको थियो ।

यात्रुबाहक बस सडकबाट तल खस्दा भएको सो दुर्घटनाबाट १५ जनाको घटनास्थलमै निधन भएको थियो । बाँकीको अस्पतालमा ज्यान गएको हो ।

घाइते भएका २२ जना पनि गम्भीर रुपमा घाइते भएकाले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने चिकित्सकहरुले जनाएका छन् ।

बस चालकले बसलाई नियन्त्रणमा लिन नसकेपछि उक्त दुर्घटना भएको बताइएको छ । सो सडक केही साँघुरो रहेको र यसअघि पनि त्यस क्षेत्रमा दुर्घटना हुने गरेको पाइएको बताइएको छ ।

सडककै कारण बङ्गालादेशमा धेरै दुर्घटना हुने गर्दछ । बङ्गलादेश विश्वकै सबैभन्दा बढी सडक दुर्घटना हुने देशमा पर्छ । रासस÷सिन्ह्वा