१६ फागुन, काठमाडौं । धनुषाको मिथिला नगरपालिका ८ का सचिन झा बुधबार राति घरबाट ससुराली जान भनेर निस्किए । रातिको साढे १० बजे मोटरसाइकलमा जनकपुरकै पुलचोकमा रहेको ससुरालीमा जान निस्किए ।
उनी साथमा १९ लाख रुपैयाँ नगद र साढे ७ तोला सुन बोकेर हिँडेका रहेछन् । सुन ससुरालीमा रहेकी श्रीमतीका लागि र नगद बर्दिवासको ९ कठ्ठा जग्गा बैंकमा राखेर निकालकोे ऋण तिर्नका लागि भनेर बोकेर गएको सचिन बताउँछन् । पैसा र सुन रहेको झोला सचिनले मोटरसाइकलको लेगगार्डमा झुण्डाएर हिँडे । ढल्केबरमा एक अपरिचित यात्रुले बाइकमा लिफ्ट मागे ।

रातको बेला आफूलाई पनि साथी हुने सोचले उनले बाइक रोके र ति व्यक्तिलाई लिफ्ट दिए । महेन्द्रनगरमा सँगै जुस पनि खाए र लक्ष्मिनियाँस्थित पेट्रोल पम्पमा मोटरसाइकलमा तेल हाले । सचिन तेलको पैसा तिर्न पेट्रोल पम्पको काउण्टर गएका बेला मौका छोपेर ति व्यक्तिले मोटरसाइकल नै लिएर फरार भए । ति व्यक्तिले मोटरसाइकलसँगै लेगगार्डमा झुण्डाएको झोलामा रहेको १९ लाख नगद र साढे ७ तोला सुन लिएर भागे ।
मोटरसाइकल लिएर ती व्यक्ति जनकपुर तिर नै भागेका सचिन बताउँछन् । सचिनले प्रहरीलाई जानकारी गराएपनि अहिलेसम्म हराएको मोटरसाइकल, नगद र सुन पत्ता नलागेको बताएका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले भने घटनाको छानवीन भइरहेको बताएका छन् ।