२५ माघ, पर्सा ।

पर्साको लखनपुर गाविस स्थित बाघको आक्रमणबाट १ जना प्रहरी अधिकृत सहित ८ जना घाइते भएका छन् भने २ जनाको अवस्था गम्भिर रहेको छ । घाइते हुनेहरुमा पोखरीया इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक चक्रबहादुर शाह लगायत स्थानीयहरु लखनपुर गाविसका मोतिलाल यादव, तुफान पटेल, आसमान पटेल, दुखी पटेल, महेश पटेल, रघुवीर साह र रामनगरी गाविसका महेन्द्र सहनी रहेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जबाट मानव वस्तीमा प्रवेश गरेको बाघले मंगलबार दिउँसो करिब १२ः४५ बजेको समयमा अचानक स्थानीयमाथि आक्रमण गरेको थियो । खेतमा काम गरि रहेका मोतिलाल यादव र महेन्द्र सहनीमाथि बाघले आक्रमण गरे पश्चात स्थानीय र प्रहरी उद्दार गर्न पुग्दा उनीहरुमाथि पनि बाघले आक्रमण गरेको थियो ।

बाघको आक्रमणबाट गम्भिर घाइते भएका मोतिलाल यादव र महेन्द्र सहनीलाई वीरगन्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गरि थप उपचारको लागि काठमाडौं रेफर गरिएको छ भने अन्य घाइतेहरुलाई वीरगन्जमै उपचार भइरहेको छ ।