१ भदौ, काठमाडौं ।
भदौ पाँच गतेभित्र संविधान संशोधनको टुंगो लगाउन प्रमुख दलहरु सहमत भएका छन् । प्रधानमन्त्री निबास बालुवाटारमा बुधबार बसेको प्रमुख तीन दल कांग्रेस एमाले र माओवादी केन्द्रका शिर्ष नेताको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा सहभागी नेकपा एमालेका नेता सुवास नेम्बाङले घटीमा भदौ चार र बढीमा पाँच गतेभित्र संविधान संशोधनको टुंगो लगउने निर्णय गरेको जानकारी दिए । प्रमुख तीन दलबीच आगामी मंसिर १५ गतेभित्र प्रदेश र संघको दुवै चुनाव सम्पन्न गर्ने निर्णय भएको छ ।
संविधान कार्यान्वयनका लागि मंसिर १५ लाई डेडलाइन मानेर चुनाव सम्पन्न गर्ने सहमति भएको एमाले नेता नेम्बाङले बताए । उनका अनुसार निर्वाचन आयोगसँग सल्लाह गरेर निर्वाचनको मिति तय गरिनेछ । प्रमुख तीनदलको बैठकपछि संबिधान संसोधन र निर्वाचनका बिषयमा प्रधानमन्त्री शेर वहादुर देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलहरुसंग छलफल गरेका थिए ।
बैठकमा प्रधानमन्त्री देउवाले निर्वाचन तथा संसोधनका बिषयमा प्रमुख दलबिच भएको सहमतिका बिषयमा जानारी गराउदै अन्य दलको राय मागेको बैठकपछि नेताहरुले जानकारी दिएका छन् ।बैठकमा केहि साना दलले भने संसोधनका बिषयमा आपत्ती जनाएका थिए भने प्रदेश र प्रतिनिधी सभाको निर्वाचन भने एकै चरणमा गर्नुपर्ने सुझाव दिएका थिए ।