काठमाडौं, ६ बैशाख । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले आफूले नवलपरासीको बर्दघाटमा श्रीमतीको नाममा रहेको ८ कठ्ठा जग्गा बेचेर बालुवाटारको ८ आना जग्गा जोडेको दाबी गरेका छन् ।

ललिता निवासको जग्गा खरिद प्रकरणमा मुछिएका पौडेलले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै आफूले छोरा नवीन पौडेलको नाममा २०६१ साल असोज २४ गते पास गरेको उल्लेख गरेका छन् । त्यतिबेला आफू मन्त्री, सांसद वा कुनै पनि तहको जनप्रतिनिधिको जिम्मेबारीमा नरहेको पनि पौडेलले स्पष्ट पारेका छन् ।

तर उनले जग्गा कतिमा किनेको हो भन्ने चाहिँ खुलाएका छैनन् । वास्तविकता ओझेल पर्नेगरी र जनमानसमा भ्रम छर्नेगरी समाचार आइरहेको भन्दै उनले दुःखसमेत व्यक्त गरेका छन् । उनले राज्यको औपचारिक र आधिकारिक निकायबाट यथाशीघ्र छानविनको माग गर्दै छानविनका निश्कर्षको सम्मान गर्ने पनि उल्लेख गरेका छन् ।