काठमाडौं ।
भारतीय नाकाबन्दीको देखावटी कारण बन्दै आएको मधेश आन्दोलनका मुद्धा सम्बोधनका लागि आज प्रधानमन्त्री ओलीले त्रिपक्षीय बैठक बोलाएका थिए । बालुवाटारमा बोलाइएको बैठक भारतीय नाकाबन्दी खुलाउनका लागि गरिएको निर्णायक पहल हुन सक्ने अपेक्षा पनि गरिएको थियो । तर यो सामान्य कर्मकाण्ड भन्दा त्यति माथि उठ्न सकेको देखिएन ।
आन्दोलन र नाकाबन्दी अन्त्य गर्नका लागि सरकारी पक्षले विपक्षीलाई कुनै विशेष प्रस्ताव नै राख्ने हो कि भन्ने सम्मको अपेक्षा रहेको बैठकलाई शुरुमै मधेश आन्दोलनका शीर्ष नेताहरुले काठमाडौं नआएर महत्वहिन पारिदिए । आन्दोलन चर्काउन बिराटनगरमा आयोजित प्रशिक्षणलाई बालुवाटारको बैठक भन्दा बढी महत्व दिएका मधेशी नेताहरुले ओलीको वारपार वार्तालाई पहिलो गाँसमै ढुंगा सावित गरिदिएपछि अझै पनि देशले सहजै निकास पाउने सम्भावना टर्दै गएको देखिएको छ ।
ओलीको वार कि पार मनस्थिति बदलियो
प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनकारीसँग निर्णायक वार्ता गर्ने भन्दै सोमबारको बैठक बोलाएका थिए । ओलीले बैठक शूरु भएपछि ट्वीटरबाट निरन्तर यसबारे जानकारी दिएर आफ्नो उत्साह प्रदर्शन गरिरहेका थिए । उनले १५ मिनेट भित्र ५ ट्वीट गरेर वार्ताको विवरण र तस्विर समेत सार्वजनिक गरेका थिए ।
बालुवाटार वार्ताः १५ मिनेटमा प्रधानमन्त्री ओलीका ५ ट्वीट
प्रधानमन्त्रीले वार्तापछि पनि एक ट्वीट गरेर वार्ता सकारात्मक रहेको बताए । प्रधानमन्त्रीले ट्वीटरमा लेखेका छन्, ‘सत्तापक्ष,प्रमुख प्रतिपक्ष र मधेसी मोर्चाबीच आज भएको छलफल सकारात्मक रह्यो। द्वीपक्षीय ,त्रिपक्षीय वार्ता जारी राख्दै १६ गते ६ बजे फेरि संयुक्त छलफल गर्ने निर्णय भएको छ । सरकारले वार्ताको थप वातावरण निर्माण गर्ने छ।’
आन्दोलनकारीका पुरा गर्न सकिने र नसकिने मागबारे प्रष्ट भनिदिने तयारीमा समेत उनी रहेको बताइएको थियो । तर ओलीले आन्दोलन रोक्ने र गम्भिर वार्तामा बस्ने भनेर राखेको प्रस्तावलाई मधेशी नेताहरुले ठाडै अस्वीकार गरिदिएका थिए । ओलीले देशबासीले पाएको दुखको बयान गर्दै अडानबाट पछि हट्नका लागि गरेको आग्रहलाई मधेशी नेताहरुले सरकारको दमनको नीति बढेको भन्ने जवाफ सहित चुप लगाइदिए ।
मधेशी नेताहरुले दमनको अन्त्य गर्नु पर्ने र वातावरण बनाउन आग्रह गरेका थिए । सत्तारुढ दलहरु गम्भिर भए आफूहरु सँधै तयाररहेको अशोक राइले वार्तास्थलबाट बाहिरिने क्रममा जानकारी दिए । प्रधानमन्त्री ओलीले आन्दोलन स्थगित गरेर गम्भिरतापू्र्वक छलफलमा बस्न गरेको आग्रहलाई मधेशी नेताहरुलाई ठाडै अस्वीकार गरेका थिए। आन्दोलन रोक्न मधेशी नेताहरु तयार नभएपछि वार्ताको वातावरण बनाउन आफूहरु गम्भिर रहेको ओलीले बताएका थिए । प्रधानमन्त्रीले आगामी १६ गते बैठक पुनः बस्ने र यो बीचमा २ पक्षीय र बहुपक्षीय वार्ता जारी राख्ने आग्रह गरेको जानकारी एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
संघीयता नै स्थगनको प्रस्ताव
बालुवाटार बैठकमा एमाले नेता माधव नेपालले आउट अफ बक्स प्रस्ताव राखे । उनले संघीय सीमाङ्कनले देशलाई नै बन्धक बनाएको भन्दै यसलाई स्थगित गरेर अघि बढ्ने हो कि भनेर प्रस्ताव राखेका थिए । बैठकस्थलबाट बाहिरिने क्रममा माधव नेपालले आफूले संघीयता थाती राखेर अघि बढ्न प्रस्ताव गरेको जानकारी दिए । यद्यपी यो प्रस्ताव ब्यक्तिगत तवरमा मात्र राखिएको नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
कांग्रेसले फेरि खोज्यो निहुँ
नेपाली काँग्रेसले मधेशी मोर्चाको मागबारे अनविज्ञता प्रकट गरेपछि वार्तामा यस विषयमा गम्भिर छलफल नै हुन सकेन । वार्ताका क्रममा मोर्चाका नेताहरुले सीमांकनसहितको आफूहरुको ११ बुँदे माग पुन दोहोर्याएपछि कांग्रेसले भने यसबारे आफूलाई जानकारी नै नभएको बतायो ।
मधेशको मुद्धालाई प्रमुखता दिइरहेको कांग्रेसले पनि सरकारले सहजीकरणका लागि गरेका पहलमा भने अवरोध गर्दै आएको छ । आजको वार्ताले केही हद सम्म वातावरण बनाएपनि जति अपेक्षा गरिएको थियो त्यहो हुन नसकेको विश्लेषकहरुले बताएका छन् । सरकार, मधेशी मोर्चा र विपक्षी कांग्रेसको हिडन एजेण्डा वार्ताबाट कुरा मिलाउने भन्दा फरक भएका कारण यस्तो भएको उनीहरुको भनाइ छ । वार्ताको पूर्व सन्ध्यामा भारतीय राजदुतले राजनीतिक सक्रियता बढाएका थिए । प्रमुख नेताहरुलाई भेटेर उनले भारतप्रति बढी आक्रामक नबन्न सुझाएको समेत बताइएको छ ।


