काठमाडौं, ६ बैशाख । इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा आज शुक्रबार रोयल च्यालेन्जर्स बैंगलोर र कोलकाता नाइट राइडर्स भिड्दैछन् ।

खेल नेपाली समय अनुसार बेलुकी सवा ८ बजे इडेन गार्डेन्स कोलकातामा हुनेछ । घरेलु टोली कोलकाताले टस जितेर पहिला फिल्डिङ रोजेपछि बैंगलोर पहिला ब्याटिङमा तानिएको छ ।
जारी सिजनको पहिलो भेटमा बैंगलोरले २ सय ६ रनको विशाल लक्ष्य दिएपनि कोलकाताले ५ बल बाँकी छँदै ५ विकेट गुमाएर पूरा गरेको थियो ।

तर पछिल्ला तीन खेल लगातार हारेको कोलकाता दोस्रो स्थानबाट झरेर छैठौं स्थानमा पुगेको छ । आठ मध्ये ७ खेल हारेको बैंगलोर तालिकाको पुच्छारमा छ । बिराट कोहली नेतृत्वको बैंगलोर आज पनि पराजित भएमा भने प्लेअफको दौडबाट बाहिरिनेछ ।

प्लेअफमा पुग्ने संभावना जिवित राख्न पनि आज कप्तान कोहलीलाई गर या मरको अवस्था छ ।
बिस्फोटक ब्याट्सम्यान एबी डे भिलियर्स सन्चो नभएकाले नखेल्ने भएपछि कोहली थप दबाबमा छन् । उनको स्थानमा हेनरिक क्लासेन खेल्ने भएका छन् ।