२८ बैशाख, काठमाडौं ।
राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले आउने जेठ ४ गतेसम्म पनि संविधान संशोधन नभए मधेशी मोर्चाले तराई–मधेशमा कुनैपनि निर्वाचन हुन नदिने चेतावनी दिएका छन् ।
रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा बोल्दै नेता महतोले जेठ ४ गतेसम्म संविधान संशोधन नभए, मोर्चाका नेता तथा कार्यकर्ताहरुलाई लगार्ईएका झुठा मुद्दा फिर्ता नभए, बन्दीहरु रिहाई नभए र जनसंख्याको आधारमा स्थानीय तहको संख्या नबढाए मोर्चाले कुनैपनि निर्वाचनमा भाग नलिने र मधेशमा निर्वाचन गर्न नदिने चेतावनी दिए ।
उनले सरकारले संविधान संशोधन गर्ने भनेर आफूहरुको सहमतिमा संशोधन प्रस्ताव अघि बढाएपनि अहिलेसम्म पारित नगराएकोमा दुःख व्यक्त गर्दै भने, ‘निर्वाचनको वातावरण बनाउनको लागिग संशोधन प्रस्ताव त पारित गराउनुपर्यो नि, हाम्रो लागि पनि बाटो खुल्छ, हामीले पटक–पटक भनिसकेका छौं ।’
महतोले पहिलो चरणको निर्वाचनमा आफूहरुको कुनै अवरोध नभएपनि विरोध रहेको बताए । उनले भने, ‘पहिलो चरणको निर्वाचनमा हामीलाई बञ्चित गराईयो, तर हाम्रो यो निर्वाचनमा कुनै अवरोध छैन, अवरोध नभएपनि हाम्रो यसमा विरोध चाहीँ छ ।’