हुन त अहिले एसएलसी र बोर्ड फस्टको व्यवस्था हटाई सकिएको छ । तर २०५७ सालमा एसएलसी बोर्ड फस्ट हुँदा सुम्निमा सिंहको उचाई नापिसक्नु थिएन । प्रधानमन्त्रीभन्दा बढी चर्चा सुम्निमाकै थियो । उनी अचेल कता के गर्दै होलिन भन्ने आम चासो त छ तर झण्डै १८ वर्ष हुन लागेछ उनको कतै केही चर्चा सुनिदैन ।

नेपालमा संविधान जारी भएको एक वर्ष पुरा भएको अवसरमा अवैतानिक दुतावास पोर्चुगलले लिस्बोनमा विशेष कार्यक्रमको आयोजना गरेको थियो । ४० देशका राजदुतलाई बेलाएर नेपालका बारेमा जानकारी दिइयो । त्यही कार्यक्रममा मेरो टुप्लुक्क भेट भयो उनै सुम्निमासँग । केही थान फोटो खिच्यौं, फोन नम्बर आदान प्रदान गरी छुट्टियौं । कोठामा आएर सोच्दा एउटा अन्तर्वाता लिने मुड चल्यो । समय मिलाउनै गाह्रो । एक दिन बेलुकी ८ बजे भेट्ने निधो भयो । शान्त वातावरण सहितको ठाउँ पाउनै गाह्रो । निक्कै जाडो थियो । रेष्टुरेन्टबाट दुईवटा ब्लाङ्केट मागि त्यही ओढेर बाहिरै बसी कफि पिउँदै कुरा गर्न थाल्यौं ।

dr-sumnima-singh-interview-with-bomlal-giri-1

मैले सुरुमै ‘तपाई यत्रो वर्ष कता गायब हुनु भयो ?’ भनेर सोधेको प्रश्नमा सुम्निमाले आफ्नो कथा बताउँदै गईन्ः

“एसएलसीपछि मेरा दुईवटा लक्ष्य थिए, एउटा वैज्ञानिक हुने अर्को साहित्यकार । वैज्ञानिक हुने लक्ष्यलाई पूरा गर्न आइएसी पढे । दुई वर्ष पछि सरकारी छात्रवृतीमा पाकिस्तान गएर एमबीबीएस गर्न लागे । त्यसका लागि पाँच वर्ष लाग्यो । एक वर्ष इन्टनशिप भयो । ६ वर्षको अवधिमा मैले उर्दु भाषा लेख्न पढ्न पनि सिके । पाकिस्तानमा चारवटा गोल्ड मेडल र एउटा सिल्भर मेडल पाए र विश्वविद्यालय टपें ।

एमबीबीएस पछि कार्डियोलोजी भन्ने विषयसंग म बढी आकर्षित भए । त्यतिबेला मलाई लागेको थियो मेरो सपनानै कार्डियोलोजिस्ट हुने हो । नेपाल फर्केर शहिद गंगालाल अस्पतालमा दुई वर्ष कार्डियोलोजिस्ट भएर काम गरें । दुई वर्षको भोगाई पछि मलाई अझै केही अपुग भएको जस्तो अनुभव भयो ।

dr-sumnima-singh-interview-with-bomlal-giri-2

एमबीबीएसको ज्ञान र अस्पताल अनुभव म सँग थियो । त्यसलाई उपयोग गर्न म वैज्ञानिक हुनको लागि कसरी म अगाडी बढ्न सक्नु भन्ने सोच्न लागे । त्यो सोच्नै मलाई एक वर्ष लाग्यो । त्यतिन्जेल म विपश्यना ध्यान गर्न गए । आफुभित्र कनेक्सन हुनको लागि ध्यानले सहयोग गर्यो । म अहिले पनि ध्यान गर्छु दिनमा दुई पटक । र हरेक वर्ष १० दिनका लागि विपश्यना केन्द्रमा ध्यान गर्न जान्छु ।

अस्पतालको काम गराईबाट मलाई सरुवा रोग सम्बन्धी अनुसन्धान गर्न मन लाग्यो । तर विडम्बना, नेपालमा इन्भारोमेन्ट छैन, ल्याव छैन, बिल्डिङ छैन, इन्स्ट्रुमेन्ट छैन, केमिकल हुँदैन । नेपाल मात्र होइन भारत र दशिण एशियामै राम्रो रिसर्च सेन्टर छैन । वर्ल्ड क्लास रिसर्ज गर्न त युरोप, अमेरिका, अष्ट्रेलिया जानु पर्छ । त्यसपछि मैले छात्रवृती खोज्न थाले । र पोर्चुगलमा अप्लाई गरे ।

एकदम अनएक्सपेक्टेड थियो । मलाई अहिले पनि याद छ, राती १२ बजेको थियो । म गुगल सर्च गर्दै थिए । अचानक पोर्चुगलको एउटा वेबसाइट पाएँ। त्यहाँ एप्लिकेसन खुल्ला थियो, राती १२ बजे निद्रैको सुरमा मैले अप्लाई गरे, पछि इन्टरभ्यु पाएँ । इन्टरभ्यु पनि स्काईप बाटै भ’को थियो । उनीहरुले विश्वभरीका इन्स्टिच्युटबाट ३०० क्यान्डिडेट छान्ने रहेछ । ३०० बाट १० जना चुज भयो। त्यसमा म पनि परे । पोर्चुगलमा धेरै नै नाम कहलिएको इन्स्टिच्युट हो। त्यसमा म पहिलो र एक मात्र नेपाली हो ।

dr-sumnima-singh-6

पछिल्लो तीन वर्ष देखि पिएचडी गर्दै छु । अझै दुई वर्ष बाँकी छ पिएचडीको लागि । मेरो पिएचडीको विषय चाहीँ सरुवा रोग हो । म आफैले आफुलाई लक्की ठान्छु। किनकी पोर्चुगलको बेस्ट इन्स्टिच्युटमा अमङ द टप मोस्ट रिसर्चरहरुसंग बसेर मैले आफ्नो अनुसन्धान गर्दैछु ।

पिएचडी सजिलो रहेनछ । एउटा जाँच पास गरेर अर्को स्टेपमा जाने हुँदो रहेनछ । स्लो एण्ड पेनफुल । धेरै नै टाइम लाग्ने । दिनमा १०–१२ काम गर्नुपर्छ वा पढ्नु पर्छ । विकेन्ड हुँदैन, होलीडे हुँदैन । मुसामा एक्पेरिमेन्ट हो । मुसाले आज मेरो बिदा हो भन्दैन, हैन र ?

भाग्यको कुरा भनौ या के भनौ ? मैले पोर्चुगल छान्या होइन, पोर्चुगलले मलाई छान्या जस्तो भयो । किनकी जुन राती मैले अप्लाई गरे त्यो मेरो पहिलो एप्लिकेसन थियो । भविष्यमा पोर्चुगलमै बसेर रिसर्च गर्न चाहन्न। पोर्चुगललाई ’स्टेपिङ स्टोन’, लक्ष्यमा पुग्नको लागि सिढी मान्छु । अझ धेरै माथी पुग्नु छ ।

२० वर्षे योजना
म हराई जास्तो लाग्यो तर म हराएको छैन । मिडियामा चर्चित हुनको लागि कि त धेरै राम्रो काम गर्नु पर्छ कि त धेरै नराम्रो । नराम्रो काम गर्ने इच्छा छैन मेरो, नहोस् पनि । तर उत्कृष्ट काम गर्नको लागि समय लाग्छ । मैले पिएचडीमा मेरो अनुसन्धानबाट केही पत्ता लगाएँ, मलै डिस्कभर गरे जसले कुनै रोगको उपचार हुन सकोस् । एउटा मेरो रिसर्चले करोडौँ मान्छेको ज्यान बचाउन सकोस् । त्यो ओभरनाइट हुने कुरा होइन । मान्छेहरु जीन्दगी बिताउँछन् त्यो रिसर्च गर्नको लागि। त्यसैले समय लाग्छ । चर्चामा आउँछु आउँदिन थाहा छैन, तर मेरो लक्ष्य चाहिँ केही पत्ता लगाउनु हो, कसैले नसोचेको कुरा, कसैले पत्ता नलगाएको कुरा डिस्कभर गर्नु हो

dr-sumnima-singh-3

२० वर्ष पछाडी नेपालमा एउटा गुलबेनकिएन इन्स्टिच्युट स्थापना मेरो भिजन हो जहाँ म पढिरहेको छु । नेपालको अस्पतालमा काम गर्दा लाग्यो, नेपाल त रोगको भण्डार हो । हामीले किताबमा जुन रोगका बारेमा पढ्छौ त्यसको ठ्याक्कै पिक्चर बिरामीमा देख्न सक्छौ ।

नेपालमा सहि इन्फ्रास्टक्चर छैन, ल्याव छैन तर ’र मटेरियल’ यति धेरै र स्कोप यति धेरै छ रिसर्च गर्नको लागि । त्यो खजाना कसैले युज नै गरेको छैन । त्यसैले मेरो लङ टर्म भिजन के छ भने, २०–२५ वर्ष पछाडी एउटा वर्ल्ड क्लास रिसर्च इन्स्टिच्युसन स्ट्याब्लिस गर्ने, जहाँ नेपाली डक्टर या नेपाली साइन्टिस्ट, विदेशी साइन्टिस्ट त्यहाँ गएर रिसर्च गर्न सकुन् । अनुसन्धान गर्न र रोग पत्ता लगाउन सकुन् ।

२० वर्ष पछि नेपाल फर्कन्छु
विज्ञान र मेडिसिनको कुनै भौतिक सीमा हुन्छ जस्तो लाग्दैन मलाई । मैले यहाँ पोर्चुगलमा कुनै रोगको उपचार पत्ता लगाए भने २० वर्ष पछाडी नेपालको रोल्पाको कुनै गाउँको मान्छे त्यो औषधीले निको भयो भने, मैले गरेको रिसर्चले फाइदा गर्यो कि गरेन, मैले सेवा गरे कि गरिन?

म नेपाल अवस्य फर्कन्छु । तर तत्काल होइन, २० वर्ष पछि । भौतिक सीमा भित्र सिमित नहौँ, अलि खुला राखौँ। सेवा गर्न त्यही ठाउँमा हुनुपर्छ भन्ने पनि छैन, इच्छा पनि छ २० वर्ष पछाडी कुनै रिसर्च इन्स्टिच्युट स्ट्याब्लिस गरेपछि ।

नेपाल र युरोपमा भिन्नता
नेपालमा राजनैतिक स्थिरता भए धेरै समस्या सुल्झदै जान्छन् । आर्थिक स्थिति पनि अनस्टेबल छ। तर यो राजनीतिक स्थिरतासंग आउने कुरा हो । अर्को कुरा मैले फरक पाएको चाहीँ सोचाइमा हो । आम मान्छेको सोचाइमा । नेपालमा सानो सानो कुराको लागि पनि धेरै स्ट्रगल गर्नु पर्छ । १०–१५ घण्टा बत्ति जान्छ ।

dr-sumnima-singh-2

स्कुल जाने मान्छेले सोच्छ कसरी पढुँ। पेट्रोल छैन, स्कुल जाने मान्छेले सोच्छ कि कसरी स्कुल जाउँ। डाक्टरले सोच्छ म हस्पिटल जाउँ वा बिरामीले सोच्छ ट्रिटमेन्ट कसरी लिउँ । कुनै दिन ग्यास हुँदैन, नाकाबन्दी भएको बेला त झन कति अभाव कति । हामी भित्र पोटेन्सिल धेरै नै छ, ट्यालेन्टेड, पढेका, ज्ञान हासिल गरेका मान्छे धेरै छन् । तर यी साना साना कुरामा अल्झेको हुनाले ठूलो कुरामा हाम्रो दिमाग नै गएको छैन । मानव जातिको कल्याण्ड, नयाँ आविष्कार तर्फ हाम्रो ध्यानै गएको छैन। यी साना साना कुराले नै हाम्रो प्रगतिलाई रोकिराखेको छ।

युरोप भएकोले पनि हो। पोर्चुगलमा बेसिक लाइफ एकदम सजिलो छ। आज बत्ति आउँछ कि, भोली पानी आउँछ कि, त्यो सोच्दैन मान्छे। त्यो गिभन हो, बेसलाईन हो। त्यसको माथी कसरी जान सकिन्छ त्यो बारेमा सोच्छन्। सानासाना कुरामा नअल्झेकोले, ठूलो ठूलो कुरा सोच्न थालेकाले प्रगति पनि त्यसरी नै हुन्छ ।

नदी अनि झरना जस्तो सहित्य
साहित्यमा मेरो एकदमै धेरै लगाव छ। म आफुलाई दुई भागमा विभाजित गर्ने सक्ने भएको भए एक भाग वैज्ञानिक हुन्थेँ, एक भाग म साहित्यकार । मन भित्रैबाट राम्रो अनुभव गराउने मलाई साहित्यले नै हो । मैले अहिलेसम्म पाँच वटा किताब प्रकाशित गरिसकेकी छु। दुई वटा अग्रजीमा, तीनवटा नेपालीमा। र एउटा अप्रकासित कृती छ, जुन उर्दुमा छ, लाहोर डायरिज।

विज्ञान अलि चिसो सब्जेक्ट जस्तो लाग्छ। अलि दिमाग लगाउनु पर्ने, सोच्नु पर्ने, प्लान गर्नु पर्ने, एकदम मेथोडिकल भएर काम गर्नु पर्ने। साहित्य चाहिँ नदी जस्तो, झरना जस्तो फैलने, एकदम मनमा शान्ति अनुभव हुन्छ। साहित्य पढ्ने गर्छु समय पाए लेख्ने गर्छु।

बिवाहका बारेमा सोच्ने पनि फुर्सद भएन
म अहिले ३१ वर्षकी भएँ। विहे गरेकी छैन। अहिले विहे गर्ने सोच छैन मेरो, अहिले त पढाई नै हो। पढ्छु, करिअर नै हो मेरो लागि महत्वपूर्ण । समय नै छैन । व्यक्तिगत जीवनको धेरै पाटाहरु छन् । विवाह मात्र एउटा पाटो हो । जस्तै मलाई साहित्य पढ्न इच्छा लाग्छ, मलाई देश विदेश घुम्न इच्छा लाग्छ । त्यसैले समय पाए भने घुम्न गइहाल्छु । म्युजियम जान इच्छा लाग्छ । म्युजिकल कन्टर्स, क्लासिकल कन्टर्स, अपरा जान इच्छा लाग्छ । जीवनमा धेरै रंगहरु छन् विवाह भनेको केवल एउटा रंग हो जस्तो लाग्छ । घरमा प्रस्ताव आउँछ, बुवा मुमाले भनिसिन्छ, म ध्यानै दिन्न ।

dr-sumnima-singh-1

अन्त्यमा
मेरो देश, मेरो मातृभुमी मनको धेरैनै नजिक छ । भौतिक सीमा धेरै नै सानो कुरा हो । टाढा भयो भन्दैमा माया कम गरेको छैन । हरेक दिन म मेरो लक्ष्यको तर्फ नजिक नजिक हुँदै गएकी छु जस्तो लाग्छ, मेरो लक्ष्य मानव जातिको कल्याण हो । मेरो देश, देशबासीलाई धेरै नै माया प्रेम यही अनलाइन मार्फत पठाउन चाहन्छु । आजको नयाँ युवाको लागि मेरो सन्देश छ, जतिसुकै वाधा अड्चन आएपनि आफ्नो लक्ष्यलाई ध्यानमा राखेर अगाडी बढ्नु । सानोतिनो अड्चनहरु जीन्दगीमा आउँछन् नै तर यदि लक्ष्यमा आँखा छ भने अवस्य पुगिन्छ ।”

बोमलाल गिरीसँगको कुराकानीमा आधारित

बोमलालबाट अन्यः
संविधान जारी भएको एक वर्षमा जनताले के पाए ?
प्रतिक्षा गर्नुहोस् ! परदेशी आवाज लिएर छिट्टै आउँदैछौं