बार्ताको कुनै सम्भावना छैनः यादव

२६ भदौ, काठमाडौं ।

नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले आगामी भदौ २८ गते संविधान जारी हुने बताएकी छिन् । उनले संविधान जारी भएपछि दिपावालीको लागि तयार भएर बस्न आग्रह समेत गरेकी छिन् ।

रिपोर्टस क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले भनिन–‘अब संविधान बन्यो निश्चित हुनुस, हामीले संविधानसभामा हस्ताक्षर गरेपछि भदौ २८ गते संविधान जारी हुन्छ । संविधान निर्माणको प्रक्रिया रोकिदैन । भोलीबाट प्रक्रिया सुरु हुन्छ ।’ तराईमा भईरहेको आन्दोलनलाई साम्प्रदायिक दंगा तर्फ लान खोजिएको आरोप लगाउँदै यस अवस्थामा तराईका जनताको शान्ति सुरक्षाको लागि परिचालन गरिएकाले सेना परिचालन फिर्ता नहुने बताइन ।

उनले भनिन–उपचार गर्न लगिएकोलाई मार्ने, पार्टी कार्यालयमा आगजनि गर्ने, आगलागी गर्न आउने अनि सुरक्षा गर्न सेना ब्याक फोर्सको लागि आउन नहुने ? शान्ति सुरक्षाकालागि सुरक्षा परिचालन ठिक हो ।

एमाले , काग्रेस र एमाओवादीले मधेसबाट सबैभन्दा बढी प्रतिनिधित्व गरेको अवस्थामा उनीहरुले मधेसको प्रतिनिधित्व गर्दैनन भन्ने कुरा हास्यास्पद भएको भन्दै प्रश्न गरिन–एमालेको यादव यादव नहुने, उनीहरुका यादव यादव नै रहने ?

संसारमा कतै पनि संविधानमा सबैको भावना पुरा गर्न नसक्ने भन्दै आफूहरुले पनि जनसंख्याको आधारमा ५० प्रतिसत महिला सहभागिता माग्दा नपाएको तर्फ ध्यान दिन सुझाव दिईन ।

भण्डारीले झापादेखि कन्चनपुरसम्मको प्रदेश कुनै पनि हालतमा हुन नसक्ने ठोकुवा गर्दै संविधानसभाले गर्ने निर्णयको लागि संविधानसभामा सहभागी हुनु पर्ने बताईन ।
तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले यथास्थितिमा सरकारसँग वार्ताको कुनै सम्भावना नभएको स्पष्ट पारे । उनले तीन दलले संविधानसभामा कोरम नपुगेकोले दुई दिन स्थगित गरेको दावी गर्दै यो स्थगतको कुनै औचित्य नभएको प्रष्ट पारे ।

यादवले भने–हामी बार्ताका विरोधी होईनौ । तर सरकारले बार्ताको बातावरण बनाएको छैन । सेना परिचालन गरेर मधेसमा तनाव कायम रहँदासम्म बातावरण बन्दैन । राजनीतिक समस्या सेना परिचालन गरेर समाधान हुँदैन ।

उनले आफूहरुको आन्दोलन शान्तिपूर्ण भएको दावी गर्दै आफूहरुको शान्तिपूर्ण आन्दोलनमा देशलाई अस्थिरतातर्फ धकेल्न चाहने तत्वले घुसपैठ गरेको हुन सक्ने भएकोले सरकारले त्यसको छानविन गरेर कारवाही गर्नुपर्ने माग गरे ।

यादवले भने–महोत्तरीमा प्रहरीको हत्या हुनु दुःखद हो । यसको सरकारले छानविन गरेर दोषीमाथि कारवाही गरोस । सरकारले कारवाही गरे हामी सहयोग गर्छौ ।
उनले आफूहरुको माग कुनै नयाँ नभएकोले यसलाई पुरा गर्ने प्रतिबद्धता ब्यक्त, सेना परिचालन फिर्ता गरे बार्ताको बातावरण बन्ने भन्दै विभेदकै विच संविधान जारी गरे त्यो मुलुकले थेग्न नसक्ने ठोकुवा गरे ।