२१ असोज, काठमाडौं । भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा रहेका सप्तरीको तिलाठीका देबनारायण यादव र उनका छोरा अजयविरुद्ध परेको मुद्धामा आज थुनछेक बहस हुंदैछ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयका अनुसार न्यायिक तथा प्रशासनिक प्रक्रियामा कुनै अलमल नभए दुवैजना आजै रिहा हुनेछन् । बिहारको सुपौल जिल्लाको कुनौलीकी युवती ज्योति साहलाई अपहरण गरि बेपत्ता पारेको आरोपमा भारतीय सुरक्षाकर्मीले देबनारायण र उनका छोरालाई पक्रेको थियो ।
पक्राउपछि जिल्ला सत्र न्यायालय वीरपुरमा पेश गरिएकोमा ज्योतिसहित देबनारायण र अजयको बयान हिजै सकिएको र आज थुनछेक बहसपछि न्यायाधीसले दुवैलाइ सामान्य तारेखमा वा धरौटीमा रिहा गर्ने सम्भावना रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए ।
देवनारायणकी बुहारी ज्योतिका परिवारले नाबालिग छोरी अपहरण गरेर बेपत्ता पारेको एफआइआर दर्ता गराएपछि एसएसबीले अपहरण तथा शरीर बन्धक मुद्दा अनुसन्धानका क्रममा उनीहरुलाई असोज १५ मा पक्राउ गरेको थियो ।