८ भदौ, काठमाडौं ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले तराईका जिल्लामा भइरहेको आन्दोलनमा भारतीय सीमा क्षेत्रबाट घुसपैठ नहोस् भन्नेबारेमा नेपालका लागि भारतीय राजदूत रणजीत रायलाई ध्यानाकर्षण गराएका छन् ।

आज गृहमन्त्रालयमा पुगेका राजदूत रायलाई गृहमन्त्री गौतमले नेपाल र भारतबीच खुला सीमाको फाइदा उठाउँदै तराईमा अवाञ्छित तत्वले खेल्न नपाओस् भन्नेमा दुवै मुलुक सचेत हुनुपर्ने बताएका थिए ।

ranjit-rae

भाारतीय राजदुत रे

गृहका अधिकारीहरुसहित भएको भेटमा पछिल्लो सुरक्षा अवस्थाबारे छलफल भएको गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिए ।

कैलाली, सर्लाहीलगायतका जिल्लामा सुरक्षाकर्मी र आन्दोलनकारीबीच लगातार झडप भइरहेको स्थितिबारे सोमबार संसद्मा जानकारी दिँदै गृहमन्त्री गौतमले सीमाक्षेत्रबाट आन्दोलनकारीको घुसपैठ भएको सङ्केत गरेका थिए ।

आजको भेटमा राजदूत रायले पछिल्लो समयमा तराईमा भएको मुठभेडका घटनाबाट भारत दुःखी रहेको जानकारी दिँदै आफ्नो सीमा क्षेत्रलाई दुरुपयोग हुन नदिने बताए । रासस