१० चैत, काठमाडौं । प्रहरी जनताको सेवक र रक्षक हो । त्यसैले उसलाई सरकारले हतियार दिएर जनताको सुरक्षामा खटाएको हुन्छ । तर त्यहि हतियारले जनता तर्साएर लुट मच्चाउने प्रहरी मकवानपुरमा समातिएका छन् ।

कैलाश गाउँपालिका ५ चौकिटार गोगने बस्ने ७० वर्षीया धनलक्ष्मी गुरुङको साथमा रहेको हिराजस्तो देखिने सेतो टल्किने पत्थर खरिद गर्ने बहानामा मोलतोल गरेर पेस्तोल देखाएर लुटेको आरोपमा उनीहरु समातिएका हुन् । पक्राउ पर्नेमा ललितपुर भैंसेपाटी बस्ने १९ वर्षीय सुजन आचार्य, सुर्खेत बीरेन्द्रनगर १२ बस्ने २६ वर्षको सुरेन्द्र बसेल, जाजरकोट शिवालय गाउँपालिका १ बस्ने २८ वर्षीय बीरबहादुर बस्नेत र दाङ सिजुवा गाउँपालिका १ बस्ने २८ वर्षको हिमकान्त पुन मगर रहेका छन् ।

उनीहरुमध्ये आचार्य पत्रकार र बाँकी ३ जना प्रहरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पत्थर लुटेर भागेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक विकास कुमार तामाङको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई थाहा नगरपालिका वडा नम्बर ३ स्थित थानाबजारबाट पक्राउ गरेको हो ।

प्र.३-०१-००२२ च ३३६२ नम्बरको कारमा पक्राउ परेका हुन् । उनीहरुलाई डाँका कसुरमा मुद्दा चलाइने जिलला प्रहरी कार्यालयका डिएसपी टिकाबहादुर कार्कीले जानकारी दिए ।