५ असोज, रौतहट । प्रदेश नं २ कै पहिलो महिला प्रमुखका रुपमा रौतहटको मौलापुर नगरपालिकामा रिनाकुमारी साह निर्वाचित भएकी छन ।
नेकपा (माओवादी केन्द्र)को टिकटबाट रिनाकुुमारी निकटतम प्रतिद्वन्द्वीभन्दा झण्डै दोब्बर मत ल्याएर प्रमुख पदमा निर्वाचित भएकी हुन ।
उनीसँगै माओवादी केन्द्रका उम्मेदवार गौरी शंकर जयसवाल मौलापुर नगरपालिकाको उप प्रमुखमा निर्वाचित भएका छन । प्रमुख साहले कूल तीन हजार, ९१२ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्द्वी राजपाका प्रमुखका उम्मेदवार धीरज भन्ने रवीन्द्र पटेलले दुई हजार २०८ मत प्राप्त गरेका छन ।
यसअघि परोहा नगरपालिकाबाट नेपाली काँग्रेसका शेख वकिल प्रमुख र सुगन्धी देवी गिरी उपप्रमुखमा निर्वाचित भएका छन । प्रमुखले कुल छ हजार ३३० मत र उपप्रमुख गिरीले छ हजार ९० मत प्राप्त गरेका छन । शेखका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार अरुण जयसवालले चार हजार मत प्राप्त गरेका छन ।
त्यसैगरी ईशनाथ नगरपालिकामा फोरम लोकतान्त्रिकका सन्तोष मेहता प्रमुखमा र हुसेनी आरा खातुन उपप्रमुखमा निर्वाचित भएका छन । प्रमुख मेहताले पाँच हजार ७८५ र उपप्रमुख खातुुनले पाँच हजार २३६ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत लेखनाथ ढकालले जानकारी दिएका छन ।
जिल्लाभरिका १६ नगरपालिका र दुई गाउँपालिका गरी कूल १८ स्थानीय तहमा भएको निर्वाचनको मतगणना जारी रहेको छ । देशमै चासोको केन्द्र रहेको चन्द्रपुर नगरपालिकामा नेपाली काँग्रेस अग्रस्थानमा, एमाले दोस्रो स्थानमा, माओवादी केन्द्रका उम्मेदवार तेस्रो स्थानमा रहेका छन् ।
त्यसैगरी गौर नगरपालिकामा राजपा अग्रस्थानमा, एमाले दोस्रो स्थानमा र फोरम तेस्रो स्थानमा रहेका छन् । एघार स्थानीय तहमध्ये चार स्थानमा नेपाली काँग्रेस, चार स्थानमा मधेशवादी र तीन स्थानमा माओवादी केन्द्रको अग्रता रहेको छ ।