२५ माघ, काठमाडौं ।
मधेशमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले नयाँ आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । वीरगञ्ज नाका खुलेपछि पहिलो पटक बैठक बसेको मोर्चाले नयाँ आन्दोलनको कार्यक्रमको घोषणा गरेपनि नाका अवरोधको कार्यक्रम तत्कालका लागि स्थगित गरेको उल्लेख छ ।
मोर्चाको बैठकपछि राजेन्द्र महतो बाहेक मोर्चामा आवद्ध अन्य तीन दलका नेताको हस्ताक्षरसहित जारी विज्ञप्तिमा भनिएको छ, “शान्तिपूर्ण, अहिंसात्मक तथा असहयोग आन्दोलनलाई अझ बढी उचाई प्रदान गर्दै निर्णायक आन्दोलनको रुपमा रुपान्तरित गर्न र अझ बढी शसक्त बनाइने छ ।”

फाइल तस्विर
विज्ञप्तिमा भनिएको छ, “आन्दोलनका घोषित कार्यक्रमहरु मध्ये आम हड्ताल, नाका अवरोध र सरकारी कार्यालय बन्दलाई मात्र तत्कालका लागि स्थगित गरी यसका अतिरिक्त आन्दोलनका अन्य कार्यक्रमहरु यथावतै नै रहिरहने छ” ।
मोर्चा बैठकले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको पछिल्लो कार्य र अभिव्यक्तिबाट आन्दोलनलाई ठूलो क्षति पुग्न गएको हुँदा अब उप्रान्त यस्ता क्रियाकलाप नगर्न र नगराउन मोर्चाले निर्देश गरेको उल्लेख छ ।
विज्ञप्तिमा राजेन्द्र महतोले हस्ताक्षर गरेका छैनन् ।