१७ जेठ, काठमाडौं ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज र भोलीका लागि तय गरेको आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । मोर्चाले आजका लागि तय गरेको मसाल जुलुस प्रदर्शनको कार्यक्रम फिर्ता लिएको छ भने भोली र पर्सीका लागि आब्हान गरिएको नेपाल बन्दको कार्यक्रमलाई पनि फिर्ता लिएर आन्दोलनका कार्यक्रमलाई रुपान्तरिक गर्ने मोर्चाका नेता केशव झाले जानकारी दिए ।
जेठ ३१ गतेको चुनावका लागि भोलीदेखि उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रमलाई लक्षित गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको मोर्चाले निर्वाचन नै जेठ १४ लाई सरेपछि आन्दोलनका कार्यक्रम पनि स्थगित गरेको हो ।
अहिलेका लागि आन्दोलनका कार्यक्रम स्थगित गरेको मोर्चाले आफूहरुलाई चुनावमा जानका लागि वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ । मोर्चाले अहिले पूरा गर्न सकिने माग अहिले नै पूरा गर्न र नसकिने माग चुनाव लगत्तै पूरा गर्ने गरी राजनीतिक प्रतिवद्धता जनाउन आग्रह गरेको छ ।
संविधान संसोधन, स्थानीय तहको संख्या थप लगायतका माग चुनाव अघि पूरा गर्न नसकिने भएपनि शहीद घोषणा, बन्दी रिहा, घाइतेको उपचार लगायतका माग अहिले नै पुरा गर्न सकिने मोर्चाको भनाई छ ।