२५ फागुन, काठमाडाैं । फागुन महिनामा मौसममा आएको परिवर्तनका कारण मध्यपहाडी (पुष्पलाल) राजमार्गको चालू आर्थिक वर्षको लक्ष्य पूरा गर्न मुस्किल पर्ने देखिएको छ । नेपाल सरकारकै बजेटमा निर्माण भइरहेको एक हजार ८७९ किमी राजमार्गमा चालू आर्थिक वर्षमा ३५० किमी सडक कालोपत्र गर्ने लक्ष्य थियो ।

आवसँगै चाडबाड एवं त्यसपछि चिसो मौसमका कारण ५० किमी पनि कालोपत्र नसकिएको राजमार्ग आयोजना निर्देशनालयका आयोजना निर्देशक दीपक केसीले जानकारी दिए । “फागुनमा कालोपत्र गतिका साथ अघि बढाउने लक्ष्य थियो, यो महिनामा पटकपटक पानी परेकाले काममा गति दिन सकिएको छैन, चैत र वैशाखमा १००/१०० किमी कालोपत्र गर्न सकियो भने ३५० किमी कालोपत्रको लक्ष्य पूरा हुन सक्छ”, उनले भने।

चालू आवको लक्ष्यअनुसार १६ पुलमध्ये आठ पुलको काम सकिएको छ । पुलको काम चिसो मौसममा पनि गर्न सकिने भएकाले लक्ष्यअनुसार नै काम हुने आयोजना निर्देशक केसीले बताउनुभयो । राजमार्गका लागि कालोपत्र भइसकेको ४६२ किमी सडक पुरानै लिइएको थियो । मध्यपहाडीमा कोरोनाको प्रभाव नदेखिए पनि मौसमका कारण यस वर्षको लक्ष्य पूरा गर्नु चुनौतीपूर्ण देखिएको छ । तयारी अवस्थामा लिइएको ४६२ किमीसमेत हालसम्म करिब ८५० किमी यो राजमार्गको सडक कालोपत्र भइसकेको छ ।

आव २०७९/८० सम्म राजमार्गको काम सक्ने सरकारको लक्ष्य छ । आयोजनामा आव २०७५/७६ देखि पाँच स्थानमा योजना कार्यालय स्थापना गरी कामलाई गति दिइएको जनाइएको छ । आयोजना शुरु हुँदा एक हजार ७०० किमी दूरीको काम अघि बढाइएकामा सुनकोशी र बूढीगण्डकी जलाशययुक्त आयोजनाका कारण ‘एलाइनमेन्ट’ परिवर्तन गरिएको थियो । आव २०६४/६५ देखि शुरु भएको राष्ट्रिय गौरवको यो आयोजनामा हालसम्म रु ४० अर्ब खर्च भइसकेको छ । रु ८४ अर्ब ३३ करोड लागत अनुमान गरिएको आयोजनामा चालू आवमा रु १२ अर्ब बजेट विनियोजन भएको छ ।

त्यसमध्ये रु तीन अर्ब खर्च भइसकेको आयोजना निर्देशक केसीले जानकारी गराए। पाँचथरको फिदिम, काभ्रेपलाञ्चोकको धुलिखेल, गोरखाको पालुङटार, पर्वतको कुस्मा र दैलेखमा गरी पाँच स्थानमा २०७५ पुसदेखि योजना कार्यालय स्थापना गरिएको हो । बोलपत्र गर्नेदेखि निर्माण व्यवसायीसँग सम्झौता गरी कार्यान्वयनमा लैजाने जिम्मेवारी योजना कार्यालयलाई नै दिइएको छ । आयोजना निर्देशनालयले भने अनुगमन र समन्वयको काम गरिरहेको छ । त्यसअघि पूर्व र पश्चिम खण्डका रुपमा आयोजनाका दुई कार्यालय थिए । पाँचथरको चियो भञ्ज्याङबाट शुरु हुने राजमार्ग बैतडीको झुलाघाटमा गएर टुङ्गिन्छ । राजमार्गले मध्यपहाडी क्षेत्रका २६ जिल्लालाई छुन्छ । सडकको ट्र्याक भने खुलिसकेको निर्देशनालयले जनाएको छ । रासस