१८ पुष, एजेन्सी । अमेरिकाले इरानमाथिको आक्रमण तिब्र पारेपछि मध्यपूर्वमा युद्धको बादल मडारिएको विश्लेषण गरिएको छ । अमेरिकी आक्रमणमा आफ्नो सेनाको जनरल मारिएपछि मध्यपूर्वको परिस्थिती थप जटिल बनेको हो ।

जनरल कासिम सुलेमानीको आमेरिकी रकेट आक्रमणमा मृत्यु भएपछि इरान आक्रोशित भएको छ । उसले जुनसुकै हालतमा पनि अमेरिकासँग बदला लिने चेतावनी दिएको छ । सुलेमानी मारिएपछि इरानका सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीले ‘अपराधीहरुमाथि कडा बदला लिने’ बताएका हुन् । इरानमा अहिले सुरक्षा परिषदको आपतकालीन बैठक बसिरहेको छ । बैठकले गर्ने निर्णय मध्यपूर्वकै लागि खतरनाक हुन सक्ने अनुमान गरिएको छ ।

आफ्ना सेना प्रमुखको निधनमा इरानले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ । रक्षामन्त्री जावेद जारिफले यो घटनालाई अन्तर्राष्ट्रिय आतंकवाद भनेका बीबीसीले उल्लेख गरेको छ । ‘यो घटनाले उब्जाएको परिस्थितीको पूर्ण जिम्मेवार अमेरिका हुनेछ’, उनले ट्वीटमा भनेका छन् । इरानी टेलिभिजनहरुले यो आक्रमणमा इराकी विद्रोही नेता अबु महदी अल मुहान्दीस पनि मारिएको समाचार प्रशारण गरेको छ । अमेरिकी रक्षा मन्त्रालयले सुलेमानीलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा मारिएको बताएको छ ।

इरानका लागि सुलेमानी महत्वपूर्ण व्यक्ति थिए । उनी कारमा रहेका बेला अमेरिकाले हवाइजहाजबाट रकेट प्रहार गरी मारेको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले घटनापछि अमेरिकाको झण्डा ट्वीट गरेका छन् । सन् १९९८ देखि इरानको क्विड नामक विशेष दस्ताको नेतृत्व सुलेमानीको हातमा थियो । यो दस्ताले देशबाहिर गोप्य गतिविधि गर्ने बताइएको छ । जनरल सुलेमानीले सिरियामा बसार अल असदको सत्ता टिकाउन र इराकमा आइएसविरुद्धको संघर्षमा विशेष भूमिका खेलेका थिए । उनले सन् १९८० को दशकमा भएको इरान-इराक युद्धमा लडेका थिए ।