२६ भदौ, काठमाडौं । एक वर्ष भन्दा बढीदेखि रोकिएको मलेसियाको रोजगारी खुलेको छ । नेपाली प्रतिनिधिमण्डल र मलेसियाका सरकारी अधिकारी सहभागी बैठकमा सहमति भएसँगै रोजगारी खुल्ने भएको हो ।

फाइल फाेटाे

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराइले ट्वीट गर्दै यस्तो जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘गतवर्षदेखि बन्द रहेको नेपाली श्रमिकहरुको मलेसिया डेस्टिनेशन आज भएको द्वीक्षीय सहमति अनुसार आगामी आइतबारदेखि खुल्ने भएको छ ।’

अघिल्लो बर्ष जेठ २ गतेदेखि बन्द रहेको मलेसिया रोजगारी खुलाउन मलेसियन उच्च अधिकारी सहित नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा परराष्ट्र र कानुन न्याय तथा संसदीय मन्त्रालयका प्रतिनिधिसहितको टोलि तीन दिनदेखि वार्तामा थिए । वार्तामा भएको सहमतिको विषय भने सार्वजनिक गरिएको छैन ।