४ असोज, बीरगञ्ज ।

सदभावना पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले मधेसीहरुले विगतमा पाएको हक अधिकार पनि अहिलेको संविधानले खोसेको भन्दै बीरगंजमा संविधानको प्रति जलाएका छन् ।

नेता महतोले बीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालमा पुगी अहिलेको संविधान मधेस विरोधी भएको भन्दै संविधानको प्रति जलाएका हुन । उनले आज विहानै नारायणी उपक्षेत्रीय अस्पतालमा पुगेर मृतक शत्रुध्न पटेलको बारेमा जानकारी लिदै उपचारार्थ घाइतेहरुलाई भेटेका थिए ।महतोको समाचार संकलन गर्न पुगेका पत्रकारको टोलीलाई प्रदर्शनकारीले उनकै अगाडी गालीगलौच गर्दै क्यामेरा बन्द गर्न लगाएको थियो ।

प्रदर्शनकारीहरुले बीरगंजको समाचार नदेखाएको भन्दै आपत्ति जनाएका थिए । आइतबार प्रदर्शनकारीले कर्फयु तोडदै प्रदर्शन गर्ने क्रममा सुरक्षाकर्मीको गोली लागी घाइते भएको समाचार संकलनको क्रममा अस्पतालहातामै दुई जना स्थानीय सञ्चारकर्मीलाई प्रदर्शनकारीले हातपात गरेका थिए ।