१८ पुष, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले राष्ट्रियसभा सदस्यका उम्मेदवार टुंगो लगाएको छ । जसमा चर्चामा रहेका दुईमध्ये एक अर्थात पार्टी सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि परेका छन् ।

गएको प्रतिनिधिसभा चुनावमा तत्कालीन नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईसँग गोरखाबाट पराजित भएका श्रेष्ठको त्यतिबेलै राष्ट्रियसभामा प्रवेशको चर्चा चलेको थियो । त्यतिबेला उनले चुनाव हारेपनि दुई वर्षपछि आएर अध्यक्षद्व पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीको मन जिते र राष्ट्रियसभा प्रवेशको अवसर पाएका छन् । आजको सचिवालय बैठकको सुरुमै अध्यक्षद्वयले श्रेष्ठलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्न प्रस्ताव गरेका थिए ।

पहिला आफूले अस्वीकार गरेपनि पछि पार्टीको निर्णयलाई स्वीकारेको उनको प्रतिक्रिया छ । पाँच वर्षपछिको चुनावमा मात्रै उम्मेदवार बन्ने कुनै उपचुनाव वा अन्य ठाउँमा उम्मेदवार नबन्ने भनेका श्रेष्ठले उम्मेदवारीबारे प्रष्ट्याउँदै भने- ‘यो मेरो रुची होइन । मलाई अध्यक्षद्वयले जानै पर्ने भनेपछि मैले पार्टी निर्णयलाई स्वीकार गरेको हुँ । अरु केही पनि कारण छैन ।’

राष्ट्रियसभामा लगेर श्रेष्ठलाई मन्त्रीपरिषदमा पनि लैजाने तयारी रहेको बालुवाटार स्रोत बताउँछ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सरकारबाट बाहिरिएपछि उपप्रधानमन्त्री र एउटा मन्त्रालयको जिम्मा श्रेष्ठलाई दिने तयारी छ ।

बामदेव किन परेनन् ?

नेकपाका प्रस्तावित उपाध्यक्ष बामदेव गौतम भने यसपटक पनि चर्चामै सिमित रहे । प्रतिनिधि सभाको चुनाव हारेपछि पटक पटक सांसद बन्ने प्रयास गरेका गौतमलाई आज विहानको सचिवालय बैठकमा अध्यक्षद्वयले नारायणकाजी श्रेष्ठसँगै राष्ट्रिय सभामा जान प्रस्ताव गरे । तर उनले यसपटक बढी नै महत्वाकांक्ष देखाए ।

उनले आफू राष्ट्रिय सभामा जाने भए संविधान संसोधन गर्नुपर्ने प्रस्ताव राखे । राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्नेगरी संविधान संसोधन हुनुपर्ने उनको माग थियो । त्यहि विषयमा नेताहरुबीच चर्काचर्की परेको र प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले संविधान संसोधन गर्न नसकिने जवाफ दिएका थिए । त्यसपछि नेता गौतमले राष्ट्रियसभामा जाने प्रस्ताव अस्वीकार गरेको स्रोतको भनाई छ ।

नेता गौतमलाई काठमाडौंका रामवीर मानन्धरलाई राजीनामा गर्न लगाएर प्रतिनिधिसभामा लैजाने चर्चा चलेको थियो । त्यसपछि कास्की क्षेत्र नम्बर २ मा हुने उपचुनावमा पनि गौतमको उम्मेदवारीबारे चर्चा चलेको थियो ।