५ फागुन, काठमाडौं । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा पुर्पक्ष थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराले सफाई पाएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको एकल इजलासले महरामाथिको अभियोग दाबी नपुग्ने भन्दै सफाई दिएको हो । सफाई पाएलगत्तै उनी डिल्लीबजार कारागारबाट रिहा भएका छन् । उनलाई कारागार बाहिर सयौंको संख्यामा उपस्थित शुभचिन्तकले स्वागत गरेका छन् ।
रोशनीले एक भिडियो अन्तरवार्तामा पूर्वसभामुख महराले आफूलाई बलात्कार प्रयास गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएपछि उनीविरुद्ध जवरजस्ती करणी उद्योगको मुद्दा चलाइएको थियो ।

रोशनीले भिडियो बाहिरिएपछि त्यसलाई बंग्याउन अनेक प्रयास गरेपनि सफल भइनन् । उनी आफ्नो कुरा राख्न महराको थुनछेक बहसमा पनि पुगिन तर अदालतले उनको कुरा सुन्न मानेन । उनले केही मिडियाहरुमा आफू डिप्रेशनको रोगी रहेको र वेहोसीमा आफूले महरामाथि आरोप लगाएको पनि बताइन् । तर अदालतले उनको कुरा नसुनि महरालाई कात्तिक १८ गते पुर्पक्षका लागि डिल्लीबजार कारागार पठाइदियो ।

जिल्ला अदालतको थुनछेक आदेश बेरितको भन्दै महरा उच्च अदालत पाटन गएपनि उच्चले जिल्लाकै आदेशलाई सदर गर्यो । शुक्रबार र आइतबार भएको सुनुवाईपछि आज फैसला सुनाउँदै जिल्ला अदालतले महरालाई पूर्ण सफाई दिएको हो ।

यस्तो छ अदालतले समातेको तथ्य

काठमाडाैं जिल्ला अदालतका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले महरालाई निम्न तथ्यका आधारमा सफाई दिएको बताए ।

प्रतिवादी (महरा)को तत्काल अनुसन्धानको क्रममा भएको बयान र अदालतमा भएको बयानलाई पुष्टि गर्दै जाहेरवाली पीडित (रोशनी) ले गरिदिएको बकपत्रले प्रतिवादीको इन्कारी बयानलाई पुष्टि गर्दै प्रतिवादी वारदातको दिन आफ्नो डेरा कोठमा आउँदै नआएको र प्रतिवादीले कुटपीटलगायतका र अभियोग दाबी बमोजिमका कसुर नगरेको भनि स्पष्ट शब्दमा खुलाइदिएको साथै परीक्षणको लागि पठाइएको गिलास, चश्मा समेतका सामानमा भएको औंठाको छाप प्रतिवादीको औंठाको छापसँग तुलनात्मक रुपमा विश्लेषण गर्न नपाइएको भन्ने समेत आधारमा अभियोग दावी बमोजिम कसुर गरेको स्थापित हुन नआएबाट प्रतिवादीले अभियोगको दाबीबाट सफाई पाउने ठहर्छ ।