संसद सचिवालमा दर्ता भएको महाअभियोग प्रस्तावले संसदमा प्रवेश पाएको छ । तर प्रमुख दलहरु भने महाअभियोग प्रस्तावलाई पारित गराउने कि नगराउने भन्ने दोधारमा देखिएका छन् । अख्तियार प्रमुख कार्कीलाई प्रमुखबाट हटाउनको लागि संसदमा दुई तिहाई बहुमत चाहिन्छ ।
महाअभियोग घटनाक्रमः प्रचण्ड, ओलीबीच अर्को वान-टू-वान वार्ता
एमाले र माओवादीका १५७ जना संसद हस्ताक्षर गरेर प्रस्ताव दर्ता गराएपनि सत्तारुढ दल कांग्रेस र माओवादीबीच नै विवाद देखिएका छ । झण्डै एक महिना अघि कार्कीको विरुद्ध कांग्रेसका नेता धनराज गुरुङ, गगन थापा र माओवादीका सांसद श्याम श्रेष्ठले महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । अहिले संसदले महाअभियोग सिफारिस समिति गठन भएलगत्तै कार्कीको विरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ । यसले राष्ट्रिय राजनीतिमा नयााँ तरङ्ग ल्याएको छ । यसै विषयमा कांग्रेस नेता धनराज गुरुङसँग नेपाली हेडलाइन्सका लागि प्रयास पराजुलीले गरेको कुराकानीः–
महाअभियोगको प्रस्ताव सुरुमा तपाई गगन थापा र श्याम श्रेष्ठले दर्ता गराउनु भो विधि मिलने अहिले एमाले माओवादी मिलेर पुनः दर्ता भएको छ कस्तो लागेको छ ?
–अख्तियार प्रमुख लोकमान सिंह कार्कीले भित्र्याएको विकृति र विसंगतीको विरुद्ध म गगन थापा र श्याम श्रेष्ठले सुरुमा संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका हौ । हामीले दर्ता गराएको प्रस्तावको जगमा अहिले महाअभियोगको प्रस्ताव आएको छ । म निकै खुसी छु । किनकी विकृति र विसंगती फाल्नको लागि अहिले प्रस्ताव दर्ता भएको छ । हामीले दर्ता गरेको प्रस्ताव विशेष प्राविधिक कारणवश अगाडि बढन सकेन । तर अहिले महाअभियोग सिफारिस समिति गठन पनि भएको छ । सँगै कार्कीको विरुद्ध महाअभियोग प्रस्ताव पनि दर्ता भएको छ । जुन जगमा महाअभियोग प्रस्ताव आएको छ । अब यसलाई सफल बनाउन सबै लाग्नु पर्छ ।
महाअभियोग प्रस्ताव दर्ता भएसँग दलहरु नै प्रस्तावको पक्ष विपक्षमा विभाजित भएका छन नि ?
–महाअभियोग प्रस्ताव पारित गराउनको लागि कुनै पनि राजनीतिक दलहरु विभाजित हुनु हुँदैन । यो विकृत र विसंगती विरुद्धको प्रस्ताव हो । दृष्टिकोण आ–आफ्नो ठाउँमा होला ।तर सबै दल र सांसदहरु एकै ठाउँमा उभिनु पर्छ । प्रस्तावलाई अहिले नेपाली जनताले नेताहरुलाई हेरिरहेका छन् । लोकमान प्रवृत्तिलाई जसरी पनि हटाउनु पर्छ । लोकमानसँग मितेरी साइनो गाँस्नेहरुको अनुहार पनि जनताले हेरिरहेका छन् । प्रस्ताव लोकमान कार्कीसँगको आग्रह पूर्वाग्रह होइन । अख्तियार प्रमुख भएर जसरी उल्टो मात्र काम गर्ने, सर्वोच्च अदालतले म्याद तामेली गर्न जादा थुनछेक गर्ने, संसदलाई नटर्ने, संसदको समितिले बोलाएको बैठकमा नआएर दादागिरी देखाउने प्रवृत्तिको विरुद्ध आएको प्रस्ताव हो ।
कार्कीलाई महाअभियोग नै लगाउनु पर्ने खास कारण के हो ?
–यो लोकमान प्रवृत्तिको विरुद्धमा आएको प्रस्ताव हो । यो संविधान र कानुन नमान्ने प्रवृत्तिमाथि आएको महाअभियोग प्रस्ताव हो । संविधान र कानुन भन्दा माथि कोही पनि छैन र हुँदैन । तर लोकमा संविधान र कानुनभन्दा माथि लोकमान कार्की देखिए । त्यसकारण हामीले सुरुमै महाअभियोग प्रस्ताव दर्ता गराएका हौ । संसदको सुशासन समितले बोलाउदा नटर्ने तर त्यसको भोलिपल्ट विरामी भएको व्यक्ति टेलिभिजनमा अन्तर्वार्ता दिने ? सार्वजनिक लेखा समितिले किटान गरेर भ्रष्टचारीलाई कारवाही गर्न निर्देशन दिदा पनि उल्टै भ्रष्टचारीसँग मिलेर पैसा खाने । फाइल हरायो भन्ने बहानाबाजी गर्ने । निर्दोष व्यक्तिहरुप्रति पूर्वाग्रह राखेर कारावही गर्ने । भ्रष्टचारीलाई कारवाही गर्नुको सट्टा वार्गेनिङ गरेर पैसा कमाउने अखडाको रुपमा काकीले अख्तियारको दुरुपयोग गरे । संसदलाई नमान्ने भएपनि अरुलाई त मान्ने कुरा नै भएन । त्यस कारण महाअभियोग प्रस्ताव नल्याइ नहुने बाँध्यता आइलाग्यो । हामीले ल्यायो ।
महाअभियोग प्रस्तावले सत्तारुढ दल कांग्रेस र माओवादीबीच नै विवाद देखियो नि ?
–लोकमानको चलखेलको प्रभावमा परेको होला । लोकमानको दानापानी खानेहरुको रुवावासी हो । सिंगो जनमत लोकमानको विरुद्धमा देखिदा पनि रुवावासी गर्नेहरुको केही कारण होला । लोकमानसँग केही हिसाब किताब होला र त हारगुहार गरिरहेका छन् । अब यस्ता व्यक्तिहरुलाई जनताले राम्रोसँग चिन्ने अवस पनि मिल्ने छ । दुई पार्टीको बीचमा त्यस्तो विवाद छैन । दुवै दल महाअभियोग प्रस्तावको पक्षमा प्रतिबद्ध भएर लाग्छ । विवाद गर्नुपर्ने कारण छैन ।
कांग्रेसभित्र नै लोकमान कार्कीलाई जोगाउनु पर्छ भन्ने देखिएका छन नि के भन्नुहुन्छ ?
–केही व्यक्तिहरुलाई प्रस्तावले नमिठो बनाएको हुन सक्छ । तर पार्टीको बैठकले निर्णय गरेर अगाडि बढ्छ । अहिलेको प्रस्तावको पक्षमा नउभिने हो भने कांग्रेसलाई अपठ्यारो पर्छ । कांग्रेस केन्द्रीय समितिबाट सर्वसम्मत निर्णय गर्छ । यस्तो महत्वपूर्ण निर्णय मुद्धामा पार्टी अनिर्णित बन्नु हुँदैन । महाभियोगको पक्षमा उभिनु पर्छ । यसको पक्षमा नउभिदा पार्टीमा विकृति र विसंगतीको जन्म हुन्छ ।
एमाले र माओवादीले ल्याएको प्रस्तावप्रति कांग्रेसको आपत्ति हो ?
–होइन कुनै आपत्ति मान्नु पर्ने कारण छैन । किनकी यो देश र जनताको पक्षमा आएको प्रस्ताव हो । यो विकृति र विसङगतीको चाङ पन्छाउन आएको प्रस्ताव हो । कांग्रेसले अपठ्यारो मान्नु पर्ने र आपत्ति जनाउनु पर्ने कारण छैन् । एमाले र माओवादीको मात्र एजेण्डा होइन । यो त कांग्रेसले अगाडि सारेको प्रस्ताव हो । अहिले कांग्रेसले गर्व गरेर अगाडि बढनु पर्छ । महाअभियोग प्रस्ताव दर्ता गर्ने धनराज गुरुङ र गगन थापा हो । यो त कांग्रेसको एजेण्डा हो ।
यो पनि हेर्नुस्