४ साउन, काठमाडौं ।

संविधानको प्रारम्भिक मस्यौदामाथि जनताको रायसुझाव सङ्कलन गर्न रौतहट पुगेका एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि आक्रमण गरिएकोमा एमालेले आपत्ति जनाएको छ ।

माधवकुमार नेपाललाई लक्षित गरी आक्रमण प्रयासले पार्टी अत्यन्त गम्भीर भएको र नुवाकोट जाने क्रममा अर्थमन्त्री डा. रामशरण महतलाई लक्षित गरी बम प्रहार गरिएको घटनाले मुलुकलाई अस्थिरतातिर धकेल्न केही अराजक, उच्छृङ्खल र लोकतन्त्रविरोधी तत्वहरू क्रियाशील देखिएको पुष्टी भएको एमालेको ठहर छ ।

Madhav nepal attack (1)

एमाले केन्द्रिय सचिवालयको तर्फबाट सचिव प्रदीप ज्ञवालीले प्रकाशित गरेको विज्ञप्तिमा ‘पार्टी नेता एवं सभासद्हरूमाथि गरिएका यस्ता आक्रमणको घोर निन्दा र भ्रत्र्सना गर्दछ भनिएको छ ।’

विज्ञप्तिको पूर्ण पाठ

४ साउन २०७२
प्रेस वक्तव्य
संविधानको प्रारम्भिक मस्यौदामाथि जनताको रायसुझाव सङ्कलन गर्न रौतहटको गौरमा आयोजित कार्यक्रममा हाम्रो पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री माननीय माधवकुमार नेपाललाई लक्षित गरी आक्रमण प्रयाश भएको खबरले पार्टी अत्यन्त गम्भीर भएको छ । उक्त आक्रमणमा परी शिवशङ्कर यादव, मनोज सिंह, बैजनाथ सहनी, विनोद पटेल, पारस हुसैन, निरज सिंह र किशोर पटेल लगायत व्यक्तिहरू घाइते हुनुभएको छ । उहाँहरूमध्ये निरज सिंह र किशोर पटेलको चन्द्रनिगाहपुरस्थित जनता अस्पतालमा उपचार भइरहेको छ । त्यसरी नै, संविधानमा जनताको रायसुझाव सङ्कलन गर्न नुवाकोट जाने क्रममा अर्थमन्त्री डा. रामशरण महतलाई लक्षित गरी बम प्रहार गरिएको छ । यस्ता क्रियाकलापहरू महोत्तरी लगायत विभिन्न स्थानमा कार्यक्रम बिथोल्ने दुष्प्रयाश भएका छन् ।
लामो सङ्घर्ष, बलिदान र प्रयाशपछि संविधानसभाबाट संविधान निर्माण भएर मुलुक राजनीतिक स्थायित्व, दिगो शान्ति र समृद्धिको दिशामा अगाडि बढ्न लागिरहेको छ । लाखौं जनता संविधानमा आफ्ना सुझावहरू प्रस्तुत गर्न देशैभरि निकै उत्साहकासाथ सहभागी भइरहनुभएको छ । यस्तो महत्वपूर्ण घडीमा संविधान निर्माणमा जनतालाई सहभागी हुनबाट रोक्न, संविधान निर्माणमा व्यवधान गर्न र मुलुकलाई अस्थिरतातिर धकेल्न केही अराजक, उच्छृङ्खल र लोकतन्त्रविरोधी तत्वहरू क्रियाशील देखिएका छन् ।
नेकपा (एमाले) संविधान निर्माणको यस ऐतिहासिक प्रक्रियालाई बिथोल्न र पार्टी नेता एवं सभासद्हरूमाथि गरिएका यस्ता आक्रमणको घोर निन्दा र भ्रत्र्सना गर्दछ । दोषीहरूमाथि तत्काल कडा कार्बाही गर्न माग गर्दछ । यस्ता अराजक तत्वहरूबाट जनताको रायसुझाव सङ्कलन कार्य अवरुद्ध हुन नदिन तथा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ । कुनै पनि होहल्ला, उत्तेजना र गैरजिम्मेवार अभिव्यक्तिहरूबाट प्रभावित र विचलित नभई उच्च मनोबल र संयमताकासाथ सक्रियतापूर्वक आफ्ना रायसुझाव प्रस्तुत गर्न र ‘हाम्रो संविधान, राम्रो संविधान’ बनाउने ऐतिहासिक अभियानमा व्यापकरूपमा सहभागी हुन आम जनसमुदायमा हार्दिक आह्वान गर्दछ ।
प्रदीप ज्ञवाली
सचिव
केन्द्रीय सचिवालय