३ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिमका कारण बजारमा मास्कको अभाव छ । हत्तपत्त पाउन मुस्किल छ । पाइहाले पनि दशौं गुणा बढी मूल्य तिर्नुपर्ने अवस्था छ ।

ब्यापारीहरुले कालोबजारीका लागि लुकाएर राखेका कारण अभाव भएको पुष्टि भइरहेको छ । प्रहरीले दुई दिनभित्र काठमाडौंका विभिन्न स्थानबाट कालोबजारीका लागि लुकाएर राखेको झण्डै मास्क बरामद गरेको छ । आज मात्रै प्रहरीले काठमाडौंको चन्द्रागिरीबाट ८ लाख ४९ हजार ६ सय मास्क बरामद गरेको छ ।

चन्द्रागिरी नगरपालिका १० विष्णुदेवीस्थित गोदामबाट कालोबजारीका लागि लुकाइ राखेको १७७ बोरा मास्क बरामद गरेको हो । महानगरीय प्रहरी परिसर टेकु र महानगरीय प्रहरी वृत्त थानकोटको संयुक्त टोलीले आरडिजी इन्टरनेशनल कम्पनिले राखेको मास्क बरामद गरिएको प्रहरीले जनाएको छ । कम्पनीका सञ्चालक काठमाडौं महानगरपालिका २३ बस्ने ३४ वर्षीय सुरज गोयल र भारत राजस्थान घर बताउने ३७ वर्षीय सुवास महेश्वरीलाई प्रहरीले पक्राउ गरेको छ ।

चन्द्रागिरी नगारपालिकाका प्रमुख घनश्याम श्रेष्ठ, वडा अध्यक्ष गोपालकृष्ण महर्जन, जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रतिनिधि प्रशासकीय अधिकृत खड्गबहादुर श्रेष्ठको रोहवरमा मास्क बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद मास्क तथा पक्राउ परेका व्यक्तिहरू उपर कालाबजारी तथा सामाजिक हित विरूद्दको अपराध २०३२ अन्तर्गत अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।