१२ कात्तिक , मुस्ताङ।

बुधबार रातिदेखि बढेको चिसो र वर्षाका कारण मुस्ताङमा भारी हिमपात भएको छ ।

जिल्लाको उपल्लो क्षेत्र सहित मुक्तिनाथ, कागबेनी र जोमसोम गाविसमा आज बिहानैदेखि हिमपात भइरहेको छ । सबैभन्दा बढी मुक्तिनाथ क्षेत्रमा हिउँ परेको स्थानीयले जानकारी दिएका छन् ।

हिमपातसँगै अत्यधिक चिसो बढेका कारण सर्वसाधारणलाई समस्या भएको मुक्तिनाथका नरसिंह गुरुङले बताए । उनका अनुसार स्थानीयहरु घरभित्रै आगो बालेर बसेका छन् ।

सदरमुकाम जोमसोमको आसपासका डाँडामा हिमपात भएको छ । सिमसिम पानीसँगै परेको हिउँले यहाँका डाँडापाखासमेत सेताम्मे देखिएका छन् ।

उपल्लो मुस्ताङको छोसेर र लोमान्थाङ क्षेत्रमा पनि हिमपात भएको स्थानीय गोकर्ण विष्टले जानकारी दिए । “हिमपातसँगै बढेको हावाले चिसो एकदमै बढेको छ”, उनले भने । असोज महिनाको अन्तिम सातादेखि नै उपल्लो मुस्ताङमा चिसो बढेको थियो ।

त्यहाँका अधिकांश सर्वसाधारण भने चिसो छल्न बेँसी झरिसकेका छन् । निरन्तर पानीसँगै हिउँ परेका कारण जोमसोम विमानस्थलमा बिहानैदेखि हवाई उडान ठप्प भएको विमानस्थल स्रोतले जनाएको छ ।

चिसोले सदरमुकाम जोमसोममा स्थानीयबासी सडकमै आगो तापेर बसेको स्थानीय कुलबहादुर थकालीले बताए । “मौसम यस्तै रहने हो भने सदरमुकाममै हिउँ पर्छ”, उनले भने ।