बाँके, १६ साउन , काशीराम शर्मा, मुस्लिम समुदायका व्यक्तिले चाडपर्वका बेला गरिने पूजाआजाका क्रममा भगवान्को अगाडि अनिवार्य टोपी लगाउनुपर्ने परम्परा नै छ ।
इस्लाम धर्मले भगवान्का अगाडि टोपी अनिवार्य गरेको छ । धार्मिक मान्यताअनुसार पूजापाठ गर्दा वा शुभसाइत गर्दा इस्लाम धर्मावलम्बीले टोपी लगाउने गरेको इस्लाम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले बताउनुभयो ।
उहाँले मस्जिदमा नमाज पढ्दा र कुनै शुभकार्य गर्दा इस्लाम धर्मावलम्बीलाई टोपी अनिवार्य गरिएको बताउनुभयो ।
मुस्लिम समुदायले आफ्नै परम्पराअनुसारको टोपी लगाउँदै आए पनि पछिल्लो समयमा बाँकेका मुस्लिम समुदायका अगुवाहरुले देशको राष्ट्रियता झल्कने ढाकाटोपी लगाउन थालेका छन् ।
इस्लाम धर्ममा कुन टोपी लगाउने भन्ने तोकिएको छैन । त्यसैले पनि पूजाआजा वा शुभकार्य गर्दा ढाकाटोपी लगाउने प्रचलन बढ्न थालेको धर्मगुरु मन्जरीको भनाइ छ ।
उहाँले भन्नुभयो, “अरू टोपी लगाउँदा पनि हुन्छ, तर धेरैजसो मुस्लिम धर्मका अगुवाले ढाकाटोपी लगाउँछन् ।
अन्यभन्दा देशको राष्ट्रियता झल्कने टोपी नै लगाउन उचित लाग्छ ।” यहाँका मुस्लिम समुदायमा ढाकाटोपी लगाउनेको सङ्ख्या बढ्दो छ ।
अधिकांश मुस्लिम अगुवा ढाकाटोपीमा सजिएर विभिन्न कार्यक्रम, सभा, समारोह वा अन्य कुनै शुभकार्यमा मात्र नभई घर, पसल तथा बाहिर कतै जाँदा ढाकाटोपी लगाउन थालेका छन् ।
कुनै शुभकार्य वा धार्मिककार्य गर्दा टोपी लगाएर मात्र गर्ने प्रचलन रहेको छ । राष्ट्रियता र पहिचानका लागि अधिकांश मुस्लिमले टोपी लगाउने गरेको नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुर मुस्लिम युवा लतिफ सल्मानी बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “धर्मगुरुदेखि सर्वसाधारण मुुस्लिमले नेपाली टोपी प्रयोग गर्छन्”, मैले पनि “नेपालीको पहिचान झल्काउन ढाकाटोपी लगाउँदै आएको छु ।” नेपाली पहिचानसँग जोडेर यहाँका मुस्लिम समुदायले ढाकाटोपी प्रयोग गर्दै आएका छन् ।
उहाँका अनुसार ढाकाटोपी नलगाउँदा केही चिज बिर्सेजस्तो लाग्छ । बाल्यकालदेखि नै उनले ढाकाटोपी लगाएकाले नलगाउँदा उनलाई खल्लो महसुस हुन्छ ।
घरबाहिर निस्कँदा नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ पनि ढाकाटोपी लगाएर मात्र निस्कनुहुन्छ ।
त्यसो त चुन्ना मुस्लिम भए पनि हिन्दूका हरेक चाडवाडमा रमाउने गर्नुहुन्छ । नेपालगञ्जका रैथाने चुन्नाले २० वर्षदेखि दशैँ तिहारमा हिन्दूको हातबाट टीका लगाउँदै आउनुभएको छ ।
नेपाली भएको चिनाउने एकमात्र माध्यम ढाकाटोपी भएकाले बाहिरी देश जाँदासमेत ढाकाटोपी लगाएर जाने गरेको उहाँले बताउनुभयो । “म हिन्दूका चाडपर्वमा निकै रमाउँछु, जहाँ जाँदा पनि ढाकाटोपी लगाएर जान्छु ।
मलाई ढाकाटोपी असाध्यै मन पर्छ”, उहाँले भन्नुभयो, “हामीले गर्ने काममा सामाजिक सद्भाव झल्किनुपर्छ । मुस्लिमले ढाकाटोपी लगाउँदा हाम्रा भगवान् दुखी हुनुपर्ने कुनै कारण छैन । हाम्रो राष्ट्रियतासँग जोडिएको पहिचान हो ढाकाटोपी ।”
नेपाली टोपी लगाएर भारतमा जाँदासमेत सम्मान मिलेको अनुभव उहाँसँग छ । “भारतमा जाँदा नेपाली मुस्लिम भनेर सम्मानजनक व्यवहार पाइन्छ”, उहाँले भन्नुभयो ।
नेपालगञ्जमा ढाकाटोपीको व्यापार सन्तोषजनक भएको घरबारी टोलस्थित पाल्पाली ढाकाटोपी पसलका सञ्चालक कृष्णप्रसाद कँडेलले बताउनुभयो । विसं २०४२ देखि नेपालगञ्जमा ढाकाटोपीको व्यापार गर्दै आउनुभएका उहाँले ढाकाटोपीको व्यापारमा विस्तारै वृद्धि हुँदै गएको बताउनुभयो ।
यसैबाट धेरै राम्रो नभए पनि खानलाउन पुगेको उहाँको भनाइ छ । पञ्चायतकालको तुलनामा पछिल्लो समय ढाकाटोपीको व्यापार केही खस्किएको बताउँदै उहाँले पूजाआजा, विवाहमा प्रयोग गर्नका लागि सर्वसाधारणले टोपी किन्ने गरेको बताउनुभयो ।
बाँके मुस्लिम समुदायको बाहुल्य भएको जिल्ला हो । राष्ट्रिय जनगणना २०६८ अनुसार चार लाख ९१ हजार ३१३ जनसङ्ख्यामध्ये बाँकेमा झण्डै २० प्रतिशत अर्थात् ९५ हजार मुस्लिम समुदायको बसोबास छ ।
नेपालगञ्ज उपमहानगरपालिकामा मुस्लिम समुदायको जनसङ्ख्या बाक्लो छ भने अन्य स्थानीय तहमा पनि यो समुदायको उपस्थिति उल्लेख्य छ । मुस्लिम समुदाय जनसङ्ख्याका आधारमा हेर्ने भने बाँके जिल्ला नेपालमै दोस्रो स्थानमा पर्छ ।
त्यसैले पनि मुस्लिम समुदायका चाडपर्वमा नेपालगञ्जमा उल्लासपूर्ण वातावरण बन्छ । मुस्लिम समुदायका चाडपर्वमा अन्य समुदाय पनि सरीक भएर परिवेशलाई अझै सद्भावपूर्ण बनाउँछन् भने अन्य समुदायका चाडपर्वमा मुस्लिम समुदायको उपस्थिति पनि उत्तिकै उल्लासमय नै हुन्छ ।
नेपालगञ्ज सद्भाव र सभ्यता बोकेको शहर हो । नेपालगञ्जमा हरेक चाडपर्वमा सबै समुदायमा उत्तिकै रौनकता हुन्छ । ढाकाटोपी मात्रै नभई मुस्लिम समुदायले लगाउने पोशाक हिन्दूले लगाउने र हिन्दूले लगाउने पोशाक मुस्लिमले लगाउने चलन बढ्दै गएको छ ।
यो नेपालगञ्जको विशिष्ट पहिचान हो । यहाँ हिन्दू, बौद्ध, मुस्लिम, शिख र इसाई मिलेर बसेका छन् । मन्दिरमा घण्टी बजिरहँदा, मस्जिदमा अल्लाह अबकरको आवाज गुन्जिन्छ । शिखले वाहे गुरु भनिरहँदा बौद्धको मन्त्रोचारण गुञ्जयमान हुन्छ ।
हिन्दूहरु मन्दिर जाँदा मस्जिद भएर जानुपर्छ । मुस्लिमहरु मस्जिद जाँदा मन्दिरहरु भएर जानुपर्छ । हरेक दुई/तीन सय मिटरको दूरीमा मन्दिर, मस्जिद, गुम्बा, गुरुद्वारा रहेका छन् ।
सबैले एकअर्काको धर्मको सम्मान र सत्कार गर्नु यहाँको परम्पराजस्तै भइसकेको छ । रासस