२३ साउन, एजेन्सी । अर्जेन्टिनी राष्ट्रिय फुटबल टीमका कप्तान लियोनल मेस्सीपछि बाज्रिलका युवा स्टार ग्राबियल जेससलाई पनि अन्तराष्ट्रिय फुटबलमा प्रतिबन्ध लागेको छ ।

दक्षिण अमेरिकी फुटबल महासंघले जेससलाई दुई महिनाको प्रतिबन्ध लगाएको हो । कोपा अमेरिकाको फाइनलमा खेल भावनाविपरीत कार्य गरेको भन्दै उनलाई प्रतिबन्ध गरिएको हो । पेरुविरुद्धको फाइनलमा जेससले दुई पहेँलो कार्डसहित रातो कार्ड पाएका थिए ।

रेफ्रीले रातो कार्ड देखाएपछि जेससले मैदानमा रेफ्रीसँग विवाद गरेका थिए । यस्तै, मैदान बाहिर उनले असभ्य व्यवहार देखाएका थिए । उनले बाहिरिने क्रममा पानीको बोतललाई लात्तीले हिर्काएका थिए भने असभ्य बोल्दै बाहिरिएका थिए ।

उनलाई दुई महिनाको प्रतिबन्धसँगै २५ हजार पाउण्ड जरिवाना समेत गरिएको छ । प्रतिबन्धपछि जेससले आगामी महिना हुने पेरु र कोलम्बियाबीचको खेल गुमाउने भएका छन् ।