एजेन्सी । भारतमा चुनावी सरगर्मी बढेसँगै सत्तारुढ भारतीय जनता पार्टी र विपक्षी काँग्रेस आइले प्रचार तिब्र पारेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘म पनि चौकीदार’ नारासहित चुनावी अभियान सुरु गरेका छन् । भारतीय जनता पार्टीका नेता मोदीले एक भिडियो सामाजिक संजाल ट्वीटरमार्फत सार्वजनिक गर्दै आगामी लोकसभा चुनावका लागि ‘म पनि चौकीदार’ अभियान सुरु गरेका हुन् ।

यो अभियानअन्तर्गत मोदीले ३१ मार्चमा देशभरका नागरिकहरुसँग अन्तक्र्रिया गर्ने कार्यक्रम छ । उनले आफ्ना मतदाता र समर्थकलाई पनि म पनि चौकीदार भन्ने संकल्प लिनसमेत आह्वान गरेका छन् । उनले तपाईँहरुको चौकीदार बलियो र देशको सेवामा निरन्तर लागिरहेको भन्ने सन्देश दिँदै एक्लो नभएको उद्घोष गरेका छन् ।

उनले भ्रष्टाचार, फोहोर र सामाजिक विसंगतीविरुद्ध लड्ने सबै व्यक्ति चौकीदार भएको बताएका छन् । मोदीले विभिन्न प्रसंगमा आफूलाई चौकीदार भन्दै आउनु भएको छ । तर राफेल विमान खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा कांग्रेस आईका अध्यक्ष राहुल गान्धीले भने चोर चौकीदारको संज्ञा दिएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् ।