राजिव देवकोटा
६ वैशाख, काठमाडौं।
२०७४ बैशाख १ गते, नयाँ बर्ष सुरु भएको हुँदा खुसियालीमा सम्पुर्ण नेपाली जनता हर्ष बिभोर हुने त स्वभाविक नै भयो । यसको साथै त्यो १ गतेको दिन बिशेष रुपले जनस्वास्थ्यकर्मीहरुको निमित्त पनि हर्षको दिन हुन पुगेको छ ।
यहाँ जनस्वास्थ्यकर्मी भन्नाले प्राविधिक अर्थमा त्यस्ता स्वास्थ्यकर्मी भनेर बुझ्नु जरुरी छ, जसले जनतालाई रोग नै नलाग्ने वातावरण अथवा स्वस्थ भई बस्ने स्थिति को निमित्त प्राविधिक सहयोग पुर्याउँदछन् । उनीहरु चिकित्साकर्मीहरु भन्दा फरक छन् । किनभने चिकित्साकर्मीहरुको शिक्षा दिक्षा, काम कर्तव्य भनेको बिरामी भइेसकेको वा बिरामी भयो कि अथवा रोग लाग्यो कि भनेर शंकास्पद स्थितिमा जनताको रोग निधो गर्ने र उपचार गर्ने हो ।
त्यो दिन जनस्वास्थ्यकर्मीहरुको लागि महत्वपुर्ण दिन भयो किनकि उनिहरुको शिक्षा -दिक्षा , काम कर्तव्यसंग निकट बिषयहरु केन्द्रित गरि देशका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साक्षी राखेर देशकै स्वास्थ्य मन्त्री गगन थापाले काठमांडौको दशरथ रंगशाला देखि बसन्तपुर सम्म हजारौं जनतालाई डोर्याएर स्वास्थ्य सम्बन्धमा केन्द्रित विशाल र्याली/ अभियान संचालनको जमर्को गरे ।
यि सबै कुरा चिकित्साकर्मी (बिरामीको रोग उपचार गर्नेहरु) संग भन्दा जनस्वास्थ्यकर्मीहरु (रोग नै लाग्न नदिन जनतालाई मद्दत गर्नेहरु) संग निकट सम्बन्ध छ ।
जनस्वास्थ्यकर्मीहरुले प्रवर्द्दनात्मक स्वास्थ्यसेवा दिएर स्वस्थ जनताको स्वास्थ्य स्थितिको जगेर्नागरि उनीहरुको स्वास्थ्य सामान्य स्तरबाट उंभो लाग्न दिएर अधिकतम स्तरसम्म पुग्न मद्दत गर्दछन् । प्रतिरोधात्मक स्वास्थ्य सेवा दिएर जनतालाई रोगलाग्न देखि बचाउने काम गर्दछन् । अनि रोगका कारक तत्वहरुसित सम्पर्कमा अाएता पनि रोगलाग्न देखि बचाउने प्रतिरोधात्मक शक्ति बृद्दि गराउन जनतालाई मद्दत गर्छन् ।
त्यस्तै रोगको तथा रोग लाग्न सक्ने खतरानक तत्वहरुको महामारी फैलिए महामारी नियन्त्रण गर्न सक्रिय भूमिका खेल्दछन्। यति मात्र होइन रोग लागेका जनतालाई समयमै परीक्षण गराउन, परीक्षणबाट रोग लागेको ठहरिएमा समयमै उपचार गराउन र उपचारको सिलसिलामा ओेषधी सेवन लगाएत अन्य क्रियाकलाप पुरामात्रामा गर्न लगाउन उत्प्रेरणा दिन्छन् ।
यी सबैकामहरु एउटा पेशेवर चिकित्सकको मूल दायरा भित्र पर्दैनन् । त्यसकारण अब, जनस्वास्थ्यको काम जनस्वास्थ्य सम्बन्धी स्नातक वा स्नातककोत्तर शिक्षा हासिल गरि पेशेवर दायित्व निभाउन सक्ने सक्षम जनशक्तिको मूल अगुवाईमा, त्यस्ता जनशक्तिको काँधमा राखिदिनु पर्छ । यसको लागि राज्यको सम्बन्धित बिभिन्न तह, स्वास्थ्य एवं सम्बन्धित संस्था, अायोजना, परियोजनाहरुमा अावश्यकता अनुसार दरबन्दी समेत सृजना गरि उनीहरुबाट स्तरिय काम लिनुपर्ने हुन्छ , अनि मात्र जनतालाइ रोग नै लाग्न नदिने भन्ने प्रतिबद्दता साकार हुनेछ ।
नत्र जनता बिरामी भएपछि उनीहरुको उपचारकार्य गरि अाफ्नो रोजीरोटीको चाँजोपाँजो गर्नुपर्ने चिकित्सा र सम्बन्धित कर्मीहरुको अगुवाईले जनतालाई रोग नै लाग्न नदिने भन्ने प्रतिबद्दता पुरा हुन सक्दैन । उक्त अभियानको क्रममा स्वास्थ्यमन्त्री थापाले ”स्वास्थ्यका लागि (उपचार का लागि ???) हुने खर्च घटाएर देश र व्यक्तिलाई समृद्ध बनाउन अभियान सुरु गरिदिएको हो।’ भनेर भनेका थिए र साथसाथै पाँच प्रतिबद्धता समेत गरेका थिए।
ती प्रतिबद्धताहरु:
- स्वास्थ्यप्रति सजग रहन म रक्सी, चुरोट सुर्तीजन्य पदार्थ खान्न,
- म नियमित व्यायाम गर्छु,
- म स्वस्थ पोषिलो, खाना खान्छु,
- म नियमित स्वास्थ्य परीक्षण गराउँछु तथा म र,
- मेरो परिवार समुदायको स्वास्थ्यप्रति सजग रहन्छु
यी अधिकांस प्रतिबद्धताहरु संवर्धनात्मक स्वास्थ्य सेवा भित्र पर्ने भएको हुनाले यसलाई कार्यान्वयन गर्नको जनस्वास्थ्यकर्मीको अगुवाइ र व्यवस्थापन जरुरी हुन्छ। किनकी संवर्धनात्मक स्वास्थ्य सेवा जनस्वास्थ्यकर्मीको कार्यक्षेत्रमा पर्दछ।
करिब ८ वर्ष अघि प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा, जनतालाई निशुल्क औषधी उपचार गर्ने भनेका थिए तर उनै प्रधानमन्त्री ८ वर्षपछि, परम्परागत सोच त्यागेर नयाँ विचारका साथ रोग नै लाग्न नदिने प्रतिबद्धताका साथ झण्डा उठाउनु एउटा ऐतिहासिक घटना हो।
तर यदि, जनस्वाथ्य कार्यक्षेत्र भित्रको अगुवाइ गर्ने र व्यवस्थापन गर्ने काम पेशेवर जनस्वास्थ्यकर्मीलाई नदिई फेरी चिकित्सकलाई नै भिडाउने र जनस्वास्थ्यकर्मीलाई पाखा लगाउने स्थिति आयो भने, त्यो बसन्तपूरमा गरेको गगनभेडी गडगडाहट र प्रधानमन्त्रीले फहराएको ‘मेरो वर्ष: म स्वस्थ, मेरो देश स्वस्थ’ अंकित झण्डाको कुनै अर्थ रहने छैन।
-राजिव जनस्वास्थ्य विषयमा स्नातक तह अध्ययनरत छन्
यो पढ्नुस्।
वर्ष २०७४ ‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’