५ असोज, काठमाडौं ।
संविधान निर्माण अन्तिम चरणमा पुगेका वेला भारतको असान्दर्भिक भूमिकाको विश्लेषण प्रकाशित भएपछि प्रधानमन्त्री सुशील कोइरालाका दुई सल्लाहकारले राजीनामा दिनुपरेको छ । प्रधानमन्त्रीका विकास तथा सामाजिक सल्लाहकार डा. विजन पन्त र प्रेस सल्लाहकार प्रतीक प्रधानले राजीनामा दिएका हुन् ।
पन्तले नयाँ पत्रिका दैनिकमा संविधान निर्माणमा भारतीय संस्थापनको अव्यावहारिक र असान्दर्भिक भूमिकाको आलोचना गरेका थिए भने प्रधानले रिपब्लिका दैनिकमा ‘रंग एड्भाइस’ शीर्षकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिले समयमा संविधान आउनुपर्ने बताए पनि पछि द्वन्द्व बढाउन चाहनेको प्रभावमा धारणा फेरिएको बताएका थिए ।
दुवै सल्लाहाकारको विश्लेषणप्रति भारतीय पक्षले आपत्ति जनाएपछि उनीहरूले राजीनामा दिएका हुन् । प्रेस सल्लाहकार प्रधानको राजीनामा सोमबार प्रधानमन्त्रीले स्वीकृत गरेको उनका प्रेस संयोजक प्रकाश अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रधानले सोमबार ट्विट गर्दै राजीनमाबारे भनेका छन्, ‘आफ्नो वैचारिक स्वतन्त्रताको निरन्तरताका लागि प्रधानमन्त्रीको प्रेस सल्लाहकार पदबाट आजै (सोमबार)देखि लागू हुनेगरी राजीनामा गरेको छु ।’
पन्तको राजीनामा कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री भएको एक महिनापछि डा. विजन पन्तलाई ०७० फागुनमा विकास तथा सामाजिक सल्लाहकारमा नियुक्त भएका थिए । उनले सोमबार बालुवाटार गएर प्रधानमन्त्रीको सचिवालयमा राजीनामापत्र बुझाएका छन् । पन्तले भने, ‘प्रधानमन्त्रीलाई सजिलो होस् भनेर राजीनामा दिएँ ।’ तर, रातिसम्म स्वीकृत नभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए । आजको नताँ पत्रिकामा खबर छ ।