८ असोज, एजेन्सी । चीनले ११ अर्व डलर खर्च गरेर राजधानी बेइजिङमा बनाएको विशाल विमानस्थल आज बुधबारदेखि संचालनमा आएको छ । चीनको ७० औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा राष्ट्रपति सी जिन्पिङले बेइजिङस्थित डाशिङ अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन्।

यो विमानस्थल झन्डै सात लाख वर्गमिटर क्षेत्रमा फैलिएको चाइना डेलीलाई उद्यृत गर्दै बीबीसीले जनाएको छ । फुटबल मैदानसँग तुलना गर्ने हो भने ९८ वटा फुटबल मैदान बराबरको क्षेत्रफल यसले ओगटेको छ ।

एअरपोर्ट काउन्सिलका अनुसार बेइजिङको पुरानो विमानस्थल विश्वकै दोस्रो अतिव्यस्त विमानस्थल हो। डाशिङ विमानस्थलमा एउटै भवनमा संसारकै सबैभन्दा ठूलो टर्मिनल भएको बताइन्छ। सन् २०२५ भित्र १७ करोड यात्रुहरू उक्त विमानस्थल हुँदै बेइजिङ आउने अपेक्षाचीनले गरेको छ ।

नयाँ विमानस्थलबाट बुधवारदेखि सातवटा आन्तरिक विमानसेवाले उडान थालेको ग्लोबल टाइम्सले जनाएको छ।

ब्रिटिश एअरवेज, क्याथे प्यासिफिक, फिनएअर र अन्य अन्तर्राष्ट्रिय विमानसेवाले पनि डाशिङमा आफ्नो विमान चलाउने घोषणा गरिसकेका छन्। यो नयाँ विमानस्थलको नमुना प्रसिद्ध वास्तुकार जाहा हादिदले बनाएका हुन्।

सबै फाेटाे:एजेन्सीहरु