२९ साउन, काठमाडौं ।
सातौँ राष्ट्रिय कराते प्रतियोगिताअन्तर्गत एकल कातामा नीरज अधिकारी र लुनिभा तुलाधरले स्वर्णपदक हात पारेका छन् ।
कालीमाटीस्थित जिलेट उमाविको प्राङ्गणमा भएको सो प्रतियोगितामा अधिकारीले पुरुष एकलमा विशान्त रानामगरलाई पराजित गर्दै स्वर्णपदक हात पारेका हुन् । त्यस्तै तुलाधरले भने महिला एकलको स्पर्धामा सुलोभिका अधिकारीलाई पाखा लगाउँदै स्वर्णपदक जितेकी हुन् ।
यसैगरी पुरुषतर्फको २० केजी तौलसमूहमुनिको स्पर्धामा सुमन बस्नेतले स्वर्णपदक जिते । उनले रोशन राना मगरलाई ६–४ अङ्कले पराजित गरेका हुन् । नेपाल गोजुरियो कराते सङ्घद्वारा आयोजित उक्त प्रतियोगिताको उद्घाटन सभासद् ध्यानगोविन्द रञ्जितले गरेका थिए । शनिबारसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा २७० खेलाडीको सहभागिता रहेको आयोजक सङ्घका अध्यक्ष नेत्र सुब्बाले जानकारी दिए ।