१४ चैत, काठमाडौं । कोरोना भाइरसबाट बच्न जारी गरिएको लकडाउनमा काठमाडौँका सडकको अवस्था बुझ्न शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर स्थलगत अवलोकनमा निस्किएका छन् ।

सरकारले उपत्यकाका खाल्डाखुल्डी पुर्ने र कालोपत्र गर्ने कामलाई तीव्रता दिएसँगै पछिल्लो अवस्थाबारे राज्यमन्त्री मानन्धरले पैदलबाट अनुगमन गरेका हुन् । शुक्रबार बिहान राज्यमन्त्री मानन्धरले बालाजु चोकदेखि सोह्रखुट्टेसम्म कालोपत्र गरिएको सडकको अनुगमन गरे ।

उनले बालाजु नयाँबजारस्थित विष्णुमती करिडोरको लिङ्क रोडमा गर्न लागिएको कालोपत्रका बारेमा पनि अवलोकन गरे । सडक कालोपत्र र रेखाङ्कनको अवस्थाबारे अनुगमन गर्दै मानन्धरले बालाजु क्षेत्रमा हुने जाम घटाउनका लागि बालाजु पुलको तलबाट अण्डरपास निर्माण गर्ने तयारी भइरहेको जानकारी दिए ।

उनले काठमाडौँ उपत्यकामा कालोपत्र गरिएका र हुन लागेका सबै स्थानको अवलोकन तथा निरीक्षण गरिने बताउँदै ठेकेदारले गुणस्तर कायम नगरिएको पाइए कारवाही हुने स्पष्ट गरे । रासस