२९ असार, विराटनगर ।
विराटनगरको मुनाल पथमा आज बिहान अज्ञात व्यक्तिले चलाएको गोली लागेर एक महिला घाइते भएकी छन् । उदयपुर बेलटारकी ४७ वर्षीया टिनादेवी विष्टलाई अज्ञात समूहले बिहान ५ बजे गोली प्रहार गरेको हो ।
विराटनगर अस्पतालमा उपचाररत रहेका आफ्ना आफन्तलाइ भेटेर फर्कने क्रममा मोटर साइकलमा आएका दुइजना लुटेराहरुले आफ्नो पर्स खोस्न खोज्दा आफुले नदिएपछि गोलि चलाएको विष्टले बताए । लुटेराहरुले आफ्नो साथवाट नगद ११ हजारसमेत लुटेर लगेको घाइते बिष्टले बताए ।
घर फर्कने क्रममा मुख्य राजमार्गमा बस कुरीरहेको अवस्थामा दुई व्यक्ति आएर पेस्तोल तेर्साएर लुटपाट गरेको उनको भनाई छ । मोरङका प्रहरी प्रमुख सन्दिप भण्डारीले घट्नाबारे अनुसन्धान भइरहेको जानकारी दिए । घुँडामा गोली लागेका विष्टको अहिले विराटनगरस्थित बिराट नर्सिङ होममा उपचार भइरहेको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।