एजेन्सी । एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत अहिले भइरहेको खेलमा इङ्ल्याण्डले अफगानिस्तानलाई जितका लागि ३९८ रनको लक्ष्य दिएको छ ।

घरेलु मैदानमा म्यानचेष्टरमा टस जितेर पहिला ब्याटिङमा उत्रिएको इङ्ल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ९७ रन बनाएको हो । उसका लागि कप्तान इयान मोर्गानले सर्वाधिक १ सय ४८ रनको सानदार पारी खेले । उनले विश्वकपको जारी संस्करणमै तिब्र शतक प्रहार गरे । मोर्गानले ५७ औं बलमा छक्का प्रहार गर्दै शतक पूरा गरे ।

विश्वकप इतिहासकै यो चौथो छिटो शतक हो । आफ्नो कूल पारीमा मोर्गानले १७ छक्का प्रहार गरे । उनी एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडीको रेकर्ड कायम गर्न सफल भए । उनले वेष्टइण्डिजका क्रिस गेल, भारतका रोहित शर्मा र दक्षिण अफ्रिकाका ए बी डेभिलियर्सले बनाएको १६–१६ छक्काको रेकर्ड तोडेका हुन् ।

जोनी बैरिष्टोले ९० र जोय रुटले ८८ रनको योगदान गरे । केहीबेरमा अफगानिस्तानले जवाफी ब्याटिङ गर्नेछ ।