भक्तपुर, १ वैशाख । प्रसिध्द बिस्केट जात्राको विश्वध्वजासहितको ५५ हात लामो लिङ्गो आज साँझ ढालिएको छ । शुक्रबार साँझ भक्तपुर नगरपालिका भेलुखेलस्थित ल्यासिखेलमा तान्त्रिक विधिअनुसार उठाइएको लिङ्गो आज दिनभर पूजाअर्चना गरी दशकर्म विधान गरी ढालिएको छ ।
लिङ्गो ठड्याउनुअघि लिङ्गोको कोखा(टुप्पो)मा नाग र नागिनीको प्रतीक स्वरूप दुई ध्वजा बाँधेर अष्टमातृकाको प्रतीक आठ डोरीले तानेर उक्त लिङ्गो ठड्याइने चलन छ । त्यही आठ डोरीले आठ कुनामा बाँधेर लिङ्गो ढालिएको थियो । लिङ्गोको कोखामा झुण्ड्याइएका दुई ध्वजालाई वीरध्वजा, विश्वध्वजा र आकाशभैरवको ध्वजासमेत भनिन्छ । भक्तपुरको प्रसिद्घ बिस्केटको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि आउनुका साथै शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले सो जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको संस्कृतिविद् बताउँछन् ।
लिङ्गो उभ्याइने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो । मल्ल राजाले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने चलन थालिएको बताइन्छ । लिङ्गो ढालेपछि ल्योसिङखेलबाट भैरवनाथको रथ गःहिटीमा ल्याएर भैरवनाथ र भद्रकालीको रथ जुधाइएको छ । भैरव र भद्रकाली देवदेवीको समागम जात्रा भनेर चिनिने सो जात्रालाई स्थानीय भाषामा ‘द्यो ल्वाकिगु‘ भनिन्छ ।
जात्रामा रथ जुधाउनुअघि बेताल देवतालाई गःहिटीमा ल्याएपछि झ्यालबाट कुखुरा दिई बली चढाएर रथ जुधाउने परम्परा छ । भैरवनाथ र भद्रकालीको रथ जुधाउने जात्रा सम्पन्न भएपछि ती दुवै देवदेवीको पूजा गरिने परम्परा छ ।