प्रयास पराजुली

को हुन शक्ति लम्साल ?

प्रगतिशील साहित्य र पत्रकारिताको क्षेत्रमा लामो समय सक्रिय वरिष्ठ पत्रकार शक्ति लम्सालको ८० बर्षको उमेरमा निधन भएको छ । लम्साल माक्र्सवाद, लेनिनवादी र माओवादीप्रति कलम चलाउने शसक्त कलमजीविको रुपमा आफूलाई स्थापित गर्न सफल लम्सालको निधनले पत्रकारिता क्षेत्रमा ठूलो क्षति पुगेको छ । नेपाली समाजमा उनले देखेको परिवर्तनको सपना अझै पूरा हुन नसकेकोमा उनी चिन्तित थिए ।

shakti lamsahla pic

लम्साल विगत नौ बर्षदेखि थला परेपनि घरमै उपचार हुँदै आएको थियो । सात दिन अघि स्वास्थ्यमा समस्या देखिएपछि टिचिङ अस्पतालमा उनलाई भर्ना गरिएको थियो । पत्रकारितासँगै उनले थुपै हिउँद बर्ष विताए । आफ्नो नीजि जीवनको सपना कहिल्यै देखनन् । निरन्तर रुपमा पत्रकारितामा अहोरात्र आफूलाई समर्पित गरे । हरेक राजनीतिक र साहित्यक कार्यक्रममा सक्रिय भइरहने लम्साल यस घर्तीबाट विदा भएका छन् । उनीसंगको भेटमा भन्ने गर्थे–पत्रकारिता गरेर गल्ती गरिन, जेल नेल त संघर्षको एउटा पाटो हो, जीवन एउटा संघर्षको मैदान हो मैले हारिन ।’ तर लम्सालले मृत्युलाई जित्न सकेनन ।

काँडाकै बीचबाट फूल फुल्छ
०६२/०६३ को जनआन्दोलमा सांस्कृतिकर्मीहरुको अगुवाई गरेका लम्साललाई धेरै पटक प्रहरीले पक्राउ गरी ग-यो तर पनि उनको दृढ विश्वासको अगाडी प्रहरीको पनि केही लागेन । संकटकालको समयमा उनलाई धेरै पटक घरबाटै प्रहरीले पक्राउ ग-यो । तर पनि उनले आत्मसमपर्ण गरेनन । बरु आफ्नो विचार आस्थामा अडिक नै रहे । ‘काँडाकै बीचबाट फुल फुल्छ, जीवन पनि संघर्षबाटै बन्छ उनले बारम्पार दोहो-याउने गर्थे ।

गरिब निमुखाका जीवन नफेरिएकोप्रति चिन्ता

राजधानी काठमाडौंको चाबहिल चारुमतीटोलस्थित १९९२ साल चैत्र १४ गते आमा राधादेवी लम्साल र बुबा कृष्णप्रसाद लम्सालको कोखबाट माइलो छोराको रुपमा जन्मिएका लम्साल आफ्नै बुबा कृष्णप्रसाद लम्सालको सामन्ती व्यवहारको कारणले गर्दा आफ्नै घरबाट विद्रोह गरेर कम्युष्टि पार्टीमा होमिएका थिए । राजनीति, दर्शन, सिर्जना, समालोचना र पत्रकारिता लगायतका धेरै विधामा आफूलाई स्थापित बनाउन सफल लम्साल देशमा गरिब र निमुखाहरुको जीवन नफेरिएको प्रति चिन्तित थिए ।

पुष्पलालबाट बूढीऔंला काटेर कम्युनिष्ट पार्टीको सदस्यता
००९ साल असोजमा साहित्यकार रमेश विकलले नेपाल कम्युनिष्ट पार्टीको सदस्यताको फारम भरिदिएका थिए । तत्कालिन कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको हातबाट हातको बूढीऔंला काटेर रगत निकाली ल्याप्चे लगाउँदै कम्युनिष्ट पार्टीको सदस्यता बनेका थिए । कम्युनिष्ट पार्टीको सदस्यता लिएपछि विद्यार्थी संगठनबाट उनले सक्रिय राजनीति सुरु गर्दै तत्कालिन अवस्थामा युवा संगठन रुपन्देही जिल्ला समितिमा रहेर काम गरे । पार्टीको कामसँगै उनलाई प्रकाशनको जिम्मेवारी पनि थपियो । भैरहवाबाट प्रकाशन हुने ‘निर्णय दैनिक’को सम्पादक, आर्थिक बुलेटिनका रुपमा प्रकाशित हुने ‘योजना’ पत्रिकाको संवाददाता, ०३० सालपछि समसामयिक सामग्री प्रकाशन गर्ने गरी दर्ता भएको पार्टीको मुखपत्र ‘मसाल’को सम्पादक एवं प्रकाशक, ‘डेली डायरी’को सम्पादक, जनादेश साप्ताहिकको संस्थापक सम्पादकको जिम्मेवारी सम्हाले ।

लम्साल भन्थे–प्रचण्डले मात्र यो देशको नेतृत्व गर्न सक्छ
अन्तिम अवस्थासम्म विभिन्न पत्रपत्रिकामा राजनीतिक, साहित्यक लेख रचना समालोचना, कवि र लेखकका रुपमा आफूलाई चिनाउन लम्साल सफल भए । ०५२ सालमा अखिल नेपाल जनसांस्कृतिक संघका अध्यक्ष बनेर सांस्कतिक आन्दोलनको नेतृत्व पनि लम्सालले नै गरेका थिए । रत्नपार्कको तत्कालिन रातो घर अगाडी तत्कालिन जनमोर्चा र एमालेबीच कसले नारा लेख्ने भन्ने विषयमा भएको ‘भित्ते काण्ड’को नेतृत्व पनि लम्सालले गरेका थिए । लम्सालको ‘भियतनाम युद्धको ऐतिहासिक पृष्ठभूमि’ र माक्र्सवाद, समाज र साहित्य’ पुस्तक प्रकाशित छ ।

राजनीतिक रुपमा उनी माओवादी पार्टीका केन्द्रीय सल्लाहकार थिए । उनको परिवारले रातदिन नभनी पार्टीको आन्दोलनमा अहोरात्र खटी रहेन व्यक्तिलाई पार्टीले पनि वेवास्था गरेकोप्रति गुनासो रहदै आएको थियो उनले दजनौ पुस्तकमा भूमिका लेखेका छन् । १० बर्षे जनयुद्धलाई प्रचण्डले यो अवस्थासम्म ल्याइ पु-याएकाले प्रचण्डले मात्रै यो देशको नेतृत्वगर्न गर्न सक्ने विश्वास लम्सालको थियो । छोरा सन्तोष लम्सालले भने ‘बुबाले जीवनको अन्तिम क्षणसम्म पनि क्रान्तिकै कुरा गर्नुभयो, यो देशमा गरिबहरुको राज्य आउँछ कि आउँदैन भनेर चिन्ता गर्नुहुन्छ ।’ बुबाले पार्टीको लागि आफ्नो सिंगो जीवन नै समर्पित गर्नुभयो सन्तोषले भने । लम्सालका एक छोरा सन्तोष र एक छोरी प्रज्ञा लम्साल छन् ।

लम्सालले जीवनमा कहिल्यै हरेस खाएनन्
००७ सालबाट नेपालको प्रगतिशील जनवादी पत्रकारिता आन्दोलनको अग्रसर भएर लागेका थिए । लम्सालले भन्ने गर्थे–‘पत्रकारिताले लोकतन्त्रविरोधी स्वेच्छाचारीहरुको उछित्तो काट्नु पर्छ, तब मात्र जनताको पत्रकारिता हुन्छ ।’ पत्रकारितामा लाग्नेहरुलाई लम्सालको सुझाव दिने गर्थे ‘आस्था र विचारबाट विचलित भएर पत्रकारिता हुन सक्दैन ।’ उनको यही अटुट आस्थाकै कारण पत्रकारितामा लाग्नेहरुलाई एउटा गतिलो प्रेरणाको स्रोत बन्न पुगेको छ । आफ्नो सक्रिय पत्रकारितको जीवनमा उनले कहिले हरेश खाएनन् । अविचलित रुपमा निरन्तर आफ्नो कलमको निभ तिखो बनाए । तर तिनै लम्साल मृत्युलाई जित्न सकेनन ।

Shakti Lamsal press council samman

दर्जनौ पुरस्कारबाट सम्मानित
लामो समय सक्रिय पत्रकारितामा योगदान पु-याए बापत लम्साल लम्साल दर्जनौ पुरस्कारबाट सम्मानित भएका छन् । एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, सुचना तथा सञ्चार मन्त्रालयबाट वरिष्ठ पत्रकार सम्मान २०६७, कृष्ण सेन इच्छुक साहित्य पुरस्कार २०६६, प्रेस काउन्सिल–गोपालदास पत्रकारिता पुरस्कार २०६५, नेपाल वरिष्ठ पत्रकार, रिपोर्टस क्लव नेपाल कृष्ण सेन इच्छुक साहसिक पत्रकारिता पुरस्कार ०६५ लगायतका पुरस्कारबाट सम्मानित भएका थिए ।

shakti lamsahla wife pic

मेरो नाम सुनौलो अक्षरले लेख्छु भन्नुहुन्थ्यो
श्रीमती, कृष्णा लम्साल भन्छिन,

लामो समय आफ्नो सक्रिय जीवन पत्रकारितामा विताउनुभयो । शक्ति लम्साल पार्टीको सम्पति हुनुहुन्थ्यो । १२ बर्षदेखि पत्रकारिता सुरु गर्नुभएको हो । पार्टीले आफ्नो दायित्व सम्झेर गर्नुपर्ने थियो त्यसो गरेन । श्रीमानले त्यत्रो उमेरसँग पार्टीको पत्रिकामा काम गर्नुभयो । अन्तिम अवस्थामा आएर पार्टीले कुनै खोजी नीति नै गरेन ।

विल क्लिनटको श्रीमती हिलारी क्लिटनलाई नेपाल आउँदा माइतीघरमा कालो झण्डा देखाउने व्यक्ति शक्ति लम्साल हुनुहुन्थ्यो । त्यसबेला प्रहरीले निर्मम यातना दिएको थियो अशक्त भएपछि शक्ति लम्सालको अवस्था के छ भनेर कसैले पनि चासो नदेखाएको परिवारको गुनासो छ । लम्साल पार्टीप्रति समर्पित हुनुहुन्थ्यो । संकटकाल लागेको बेलामा मैले के तपाई आत्मसमर्पण गर्ने हो त ? भनेर सोधेको थिए । उहाँले बरु मर्छु तर आत्मसमर्पण गर्दिन भन्नुभयो । पाटनदेखि राती १२ बजे आउनुहुन्थ्यो जनादेशको काम सकेर । मेरो नाम सुनौलौ अक्षरले लेख्छु भन्नुहुन्थ्यो । अन्तिम अवस्थासम्म लम्साल पार्टीप्रति प्रतिबद्ध थिए । पार्टीको केन्द्रीय सल्लाहकारमा रहेपनि उहांले पार्टी फुटनु हुन्न पार्टीलाई मिलाउने काम प्रचण्डको भएको बारेमा बारम्बार उहाँ चिन्ता प्रकट गर्नुहुन्थ्यो । पाँच बर्ष अघि लडेपछि कान सुन्न छोडनु भएको थियो ।