शाहरुख खानले आफ्नो अपकमिङ फिल्म ‘रईस’ को रिलिज मितिका लागि राकेश रोशनलाई भेटी आग्रह गरेका छन्। राकेशलाई उनको फिल्म ‘काबिल’ सोही मितिमा रिलिज नगर्न शाहरुखले आग्रह गरे तर राकेश रोशनले शाहरुखको आग्रह मानेनन्। अब शाहरुखको फिल्म ‘रईस’ र ऋतिक रोशन अभिनित फिल्म ‘काबिल’ २६ जनवरी २०१७ मा एक साथ बक्स अफिसमा प्रतिस्पर्धा गर्ने भएको छ।
एक समय यस्तो पनि थियो…
बलिउडका बादशाह शाहरुखको सामु अन्य कोही आफ्नो फिल्म रिलिज गर्न डराउँथे। तर अब यो एकादेश भइसकेको छ। सलमान खानको फिल्म जानेमन, शाहरुखको डन एक साथ रिलिज भएको थियो, नतिजा सलमानको फिल्म फ्लप हुन पुग्यो।
कुनै समय थियो जब शाहरुखको मुठ्ठीमा तिहार थियो, इद थियो। अहिले अवस्था बदलिएको छ। शाहरुखबाट तिहार अनि इद छिनिएको छ। वा शाहरुख आफै पनि सो समयमा अन्यसंग प्रतिस्पर्धा गर्दै आफ्नो फिल्म रिलिज गर्न डराउन थालेका छन्।
सन् २००८ मा शाहरुखको ओम शान्ति ओमसंग संजय लिला भन्सालीको सावरिया फिल्म रिलिज भएको थियो। ओम शान्ति ओमले बलिउडमा राम्रो कमाइ गर्यो, सावरिया नराम्ररी फ्लप भएको थियो।
एकपटक फेरी शाहरुखको फिल्मसंग संजय लिला भन्साली निर्देशित फिल्म एक साथ रिलिज भए। शाहरुखको दिलवाले र भंन्सालीको बाजीराव मस्तानी। इतिहास यो पटक दोहोरिन सकेन। शाहरुख घाटामा गए, बाजीरावको अगाडी यो पटक टिक्न सकेनन्।
यसपछि शाहरुखको फिल्म फ्यान रिलिज भयो। यो पटक अरुकसैसंग टक्कर थिएन। साथै कुनै इद, तिहार वा बिदाका दिन लगातार परेनन्। फ्यानले भारतमा १०० करोड समेत कमाउन सकेन।
सलमानसंगै रिलिज हुने तय भएपनि…
शाहरुखको अपकमिङ फिल्म ‘रईस’ यो वर्ष सलमानको सुल्तानसंगै रिलिज हुने तय भएको थियो। अन्तत: शाहरुखले आफ्नो फिल्मको रिलिज रोके। यसपछि तिहारमा फिल्म रिलिज गर्न चाहे, तर अजय देवगणको फिल्म ‘शिवाय’ पनि तिहारमा रिलिज हुनेतय भएको थियो। क्रिसमसमा पनि आमिरको दंगल रिलिज हुने तय भइसकेको छ।
मिति नपाएपछि शाहरुखले २६ जनवरी २०१७ मा रईस रिलिज गर्ने फैसला गरे। तर सो दिनपनि ऋतिकको काबिल रिलिज हुँदैछ। राकेश रोशनलाई भेटेर उनको फिल्मको मिति अगाडी सार्न शाहरुखले आग्रह गरे, राकेश मानेनन्, अब यी दुवै फिल्म एकै दिन रिलिज हुने भएको हो।
बलिउडका बादशाह शाहरुखको अन्तत: फिल्म रिलिज मिति तय गर्न अरुसंग आग्रह गर्नुपर्ने अवस्था आएको छ।