कुशल श्रेष्ठ
आज पौष शुक्ल पूर्णिमादेखि ‘श्रीस्वस्थानी देवी’को व्रत कथा आरम्भ भएको छ। पौष शुक्ल पूर्णिमा देखि माघ शुक्ल पूर्णिमा सम्म हिन्दु नेपालीहरूले श्रीस्वस्थानी देवीको व्रत लिने गर्दछन्। एक महिनासम्म चल्ने श्रीस्वस्थानी व्रतलाई एउटा विशेष पर्वको रूपमा मनाइन्छ। यस अवधिमा श्रीस्वस्थानीको कथा भन्ने, सुन्ने र महादेवको पुजा पनि गरिन्छ।
श्रीस्वस्थानीको कथा स्वस्थानी देवी र भगवान शिवमा आधारित रहेको छ। आदिशक्ति भएकी स्वस्थानी देवीले भक्तजनलाई तुरुन्तै मनले चिताएको फल दिने व्रतालुहरूको विश्वास रहेको छ। सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिङ्ग बनाई श्री स्वस्थानी देवीको व्रत गर्नुभएको र मनोकांक्षा पूर्ण भएपछि उहाँकै आज्ञाअनुसार लोककल्याणका लागि पृथ्वीलोकमा पनि श्रीस्वस्थानीको व्रत आरम्भ गरिएको धार्मिक विश्वास छ।
‘वृहदस्वस्थानी-व्रतकथा’ पुस्तकको अनुसार, श्रीस्वस्थानी देवीको ८ वटा रूप रहेको छ, जसलाई अष्टदल भनिन्छ। अष्टदलको केन्द्रमा बसेकी चार हातमा त्रिशूल, तलवार, चक्र र कमल लिएकी श्रीस्वस्थानी देवी हुन्।
अष्टदलमा बसेकी अष्टमातृकाहरूः
१. वैष्णवी
वैष्णवी देवीलाई ‘वैष्णोदेवी’ र ‘त्रीकुट’ पनि भनिन्छ। संस्कृत भाषामा ‘वैष्णवी’ भनेको ‘विष्णु देवको स्त्रीरूप’ हो। हिन्दु ग्रन्थका अनुसार, वैष्णवी देवी धनकी देवी ‘लक्ष्मी’को अर्को रूप हो। चिलको सवार गरेर चार हातमा त्रिशूल, तलवार, शङ्ख र कमल लिएकी वैष्णवी देवी हुन्।
२. महाकाली
‘महाकाली’ देवीलाई हिन्दु धर्ममा समय र मृत्युको प्रतिक मानिन्छ। संहारकर्ता त्रीमूर्तीदेव शिवको अर्को रूप महाकालीलाई वास्तविकता र अस्तित्वको आधार भन्न सकिन्छ। मार्केन्देय पुराणमा महाकालीलाई ‘दुर्गा देवी’को एक पक्षको रूपमा मानिएको छ भने संस्कृत शब्दमा उनलाई ‘महाकाल’ यानिकी मृत्युको स्त्रीरूप हो भनेको छ, त्यसैले नै उनको रङ्ग कालो भएको हो। अष्टदलमा सिंहको सवार गर्ने १६ वटा हात भएकी महाकाली देवी हुन्।
३. चामुण्डा
चामुण्डी, चामुण्डेश्वरी र चर्चिका पनि भनिने ‘चामुण्डा’ देवीलाई लक्ष्मी देवीको क्रोधित रूप मानिन्छ। ६४ वटा तान्त्रिक देवीहरूको समूह ‘योगिनी’को प्रमुख देवी हुन्, चामुण्डादेवी। दुई भयङ्कर दानव ‘चण्ड’ र ‘मुण्ड’को वध गर्नको लागि लक्ष्मी देवीले एकदमै क्रोधित रूप लिएकी हुन्, त्यसैले उनलाई ‘चामुण्डा’ देवी भनिएको हो। उनलाई खुसी पार्नको लागि पवित्र जनावरको बलिदिनुपर्ने हिन्दु धर्मका ग्रन्थहरूमा उल्लेख गरिएको छ। अष्टदलमा शिर काटिएको मानवको सवार गर्ने ४ हात भएकी चामुण्डा देवी हुन्।
४. इन्द्राणी
देवहरूका राजा ‘इन्द्र’की अर्धाङ्गिनी हुन् ‘इन्द्राणी देवी’। प्राचीन वेदअनुसार, उनी इन्द्रकी छाँया हुन्। ग्रन्थहरूमा इन्द्राणी देवीको बारेमा त्यति धेरै बयान गरिएको छैन। उनलाई क्रोधकी देवी पनि भनिन्छ। ईर्ष्यालु स्वभाव भएका इन्द्र देवको दुष्ट व्यवहारकै कारणले गर्दा इन्द्राणी देवी धेरै क्रोधित हुने गर्दथिन्। अष्टदलमा हात्तीको सवार गर्ने ४ हात भएकी ‘इन्द्राणी’ देवी हुन्।
५. वाराही
अष्टमातृका देवी मध्ये एक ‘वाराही देवी’लाई ‘वराह देव’की अर्धाङ्गिनी मानिन्छ। संस्कृत भाषामा ‘वराह’ लाई ‘विष्णुको ब्वाँसो अवतार’ पनि भनिन्छ। विशेष गरी उनलाई रातको समयमा पुजा गरिन्छ। बुद्ध धर्मका देवीहरू ‘बज्रवाराही’ र ‘मरिची’लाई पनि वाराहीकै रूप मानिन्छ। अष्टदलमा गाइको सवार गरेकी र चार हात भएकी वाराही देवी हुन्।
६. कौमारी
युद्धका देवता मानिने ‘कुमार’ (कार्तिके) कै अर्को रूप मानिने कौमारी देवीलाई ‘कुमारी’, ‘कार्तिकेयानी’, ‘कार्थिकेयानी’, ‘जगदम्बिका’, ‘जगदम्बा’ र ‘अम्बिका’को नामले पनि चिनिन्छ। मयूरलाई वहान बनाएकी कौमारी देवीका ४ हात छन्।
७. महेश्वरी
भगवान ‘महेश’ (शिव) को शक्तिबाटै ‘महेश्वरी’रूप उत्पन्न भएको हो। हिन्दु धर्ममा महेश्वरी देवीलाई ‘रुद्री’, ‘रुद्राणी’, ‘शङ्करी’, ‘शिवा’ र ‘महेशी’ पनि भनिन्छ, जुन शिवकै नामहरू (रुद्र, शङ्कर, शिव र महेश)को स्त्रीरूप हो। नन्दी (राँगो)को सवार गर्ने महेश्वरीका ४ हात छन्। त्रीनेत्री देवी महेश्वरीले त्रीशूल, डमरु, बञ्चरो र खप्परको करुवा बोक्छिन्। शिवले जस्तै उनले पनि घाँटीमा सर्पको माला बेर्छिन्।
८. ब्राह्मी
सृष्टिकर्ता त्रीमूर्तीदेव ‘ब्रह्मा’कै स्त्रीशक्तिको रूप नै ‘ब्राह्मी’ हुन्। उनलाई ‘ब्रह्माणी’ र ‘ब्रह्मायी’ भनेर पनि पुकारिन्छ। उनलाई मायालु र दयालु स्वभाव भएकी देवी पनि मानिन्छ। विध्यादेवी सरस्वतीलाई कतिपय ग्रन्थहरूमा ‘ब्राह्मी’को रूप भनिएको छ। अष्टदलमा हाँसको सवार गरेकी ४ हातमा कमण्डलु, रुद्राक्ष माला, पुस्तक र कमल लिएकी ब्राह्मी देवी हुन्।
