२५ भदौ, काठमाडौं ।
प्रमुख तीन दल संविधान निर्माणको प्रक्रिया २ दिन स्थगित गरेर असन्तुष्ट पक्षसँग वार्ता गर्ने निर्णय गरेका छन् । मधेशवादी सबै दलका सभाषद, राप्रपा नेपाल लगायतका महत्वपूर्ण दल संविधासभाको प्रक्रियाबाट बाहिरिएपछि तीन दलले प्रक्रिया २ दिन स्थगित गरेका हुन् ।
प्रधानमन्त्री निवास वालुटारमा बसेको कांग्रेस, एमाले र एमाओवादीको बैठकले प्रक्रिया स्थगित गरेर वार्ताको प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेका छन् ।
यस अघि एकीकृत माओवादीले राखेको संविधान निर्माणको प्रक्रिया केही दिन स्थगित गरेर असन्तुष्ट दलहरुसँग वार्ता गर्नु पर्ने प्रस्ताव कांग्रेस एमालेले अस्वीकार गरेका थिए । तर भारतीय राजदुतले नेताहरुसँग भेटेपछि माहौल बदलिएको छ ।
बालुवाटारमा भएको सहमतिबारे एमाओवादी नेता तथा संविधानसभाको राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुरामले यस्तो ट्वीट गरेका छन् ।
आज विहान भारतीय राजदुतले एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष प्रचण्डलाई उनीहरुकै निवाशमा भेटेका थिए ।
भेटपछि एमाले अध्यक्ष ओलीले राजदूत रेसँग संविधान जारी गर्ने विषयमा कुराकानी भएको जानकारी दिए । तर भारतीय राजदुतले मधेश लगायतका शक्तिलाई बाहिर राखेर संविधान जारी गर्न सकिन्छ ? भनेर प्रश्न गरेको बताइएको छ ।
उता लाजिम्पाट पुगेर पनि राजदुत रे ले प्रचण्डलाई सहमति खोजेर मात्र संविधान जारी गर्न आग्रह गरेका थिए । दुवै नेतासँग संविधान जारी गर्न हतार गर्दा मधेशमा देखिएको तनावले कुन रुप लिन्छ भनेर भारतीय राजदुतले चासो राखेका थिए । जवाफमा प्रचण्डले आफूहरु वार्ताकै पक्षमा रहेको र असन्तुष्टलाई साथमा लिएर जान चाहेको बताएका थिए ।
पछिल्लो ३ दलीय निर्णयले अव मधेशमा देखिएको अशान्ति रोकिने अपेक्षा गरिएको छ ।

