२१ भदौ, काठमाण्डौ ।

संविधानसभाबाट बाहिरिने कि नबाहिरिने भनेर राप्रपा नेपालले भोली निर्णय गर्ने भएको छ । भोली बिहान केन्द्रीय कार्यसमितिको बैठक बसेर यसबारे निर्णय लिइने राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले जानकारी दिए ।

संविधानसभा बैठकमा अध्यक्ष कमल थापाले तीन दलको अकर्मण्ड्यता र अदूरदर्शिताका कारण मुलुक जलिरहेको भन्दै यस्तो अवस्थामा संविधानसभामा बसिहरनुको औचित्य छैन भनेर केन्द्रीय समितिबाट दवाव आइरहेको भन्दै यसको औपचारिक निर्णय भोली गरिने बताए ।

आवेशमा नआउन कमल थापालाई प्रचण्ड र रामचन्द्रको आग्रह

राप्रपा नेपालले संविधानसभाबाट बाहिरिन सक्ने बताएपछि एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । संविधानसभा भवनमा भएको भेटमा अध्यक्ष प्रचण्डले आवेशमा आएर संविधानसभा छोड्ने कुरा नगर्न आग्रह गरेका छन् ।

छलफलमा प्रचण्डले मुलुकमा लागेको आगो निभाउन सबै मिल्नुको विकल्प नभएको भन्दै पहिले राष्ट्र जोगाउन आग्रह गरेका भेटमा सहभागि प्रमुख सचेतक गिरीले बताए । राप्रपा नेपालले गरेको विधि र प्रकृयाको कुराले आम जनतामा सकारात्मक सन्देश गएको भन्दै मिलेर समस्या समाधान गर्नुको विकल्प नरहेको प्रचण्डको भनाई थियो ।

जवाफमा अध्यक्ष थापाले तीन दलले ९४ प्रतिशत जनताको मुद्धा बोकेको आफूहरुलाई स्पेश नै नदिएको र दिन नसक्नुको कारण पनि भन्न नसकेको र हरेक छलफलबाट आफूहरुलाई वेवास्ता गरेको बताएका थिए । प्रचण्डले आग्रह गर्न ढिला गरिसकेको भन्दै थापाले संविधानसभा छोड्ने नछोड्ने निर्णय भोली नै हुने जवाफ दिएका थिए ।

यस्तै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पनि आवेशमा आएर संविधानसभा छोड्ने निर्णयमा नपुग्न थापालाई आग्रह गरेका छन् । पौडेलले हिन्दु राष्ट्रका बारेमा आफूहरु सकारात्मक हुँदाहुँदै पनि स्पेस दिन नसकेको भन्दै आफूहरुको समस्या बुझिदिन आग्रह गरेका थिए । ‘हामीहरुको समस्या पनि बुझिदिनुस्, पौडेलको भनाई उदृत गर्दै गिरीले भने, आउनुस्, हामीहरु मिलेरै समयाको समाधान गर्ने हो ।’

जवाफमा अध्यक्ष थापाले कांग्रेस एमालेलाई समर्थन गरेकै शक्तिले अहिले मधेसवादी दललाई उचालेको भन्दै समस्या जलिट बन्दै गएको बताएका थिए ।

यस्तै संविधानसभा छोड्ने नछोड्ने निर्णयमा पुग्नु अघि प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष के पी ओलीसँग पनि भेटघाट गर्ने राप्रपा नेपालले जनाएको छ ।