२८ भदौ,काठमाडौं।

संविधानसभाले हिन्दू राष्ट्र कायम गर्नुपर्ने राप्रपा नेपालको प्रस्ताव अस्वीकृत गर्दै संविधानको धारा ४ मा कांग्रेस, एमाले र एकीकृत माओवादीले संयुक्त रूपमा राखेको संशोधन प्रस्ताव पारित गरेको छ ।

संविधान सभा बैठक – लाइभ अपडेट

धारा ४ मा हिन्दू राष्ट्र उल्लेख गर्नुपर्ने भन्दै राप्रपा नेपालले दर्ता गराएको संशोधन प्रस्तावमा उसले मत विभाजन गर्न भनेपछि सभाध्यक्षले प्रस्तावका पक्षमा न्यूनतम् दस प्रतिशत सदस्य पुर्याउन समय दिएका थिए । तर प्रस्तावको पक्षमा २१ सदस्य मात्रै पुगेपछि राप्रपा नेपालको संशोधन प्रस्ताव अस्वीकृत भएको हो । संविधानको मस्यौदामा सुझाव संकलन गर्दा धेरैले धर्मनिरपेक्षताप्रति विरोध जनाएपछि मुख्य तीन दलले त्यसको ब्याख्या संविधानमै राख्ने गरी संशोधन प्रस्ताव राखेका थिए ।

संशोधन प्रस्तावमा धर्मनिरपेक्षता भन्नाले ‘सनातनदेखि चलि आएको धर्म, संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ’ भन्ने ब्याख्या गरिएको थियो । संविधानसभाले सोही ब्याख्या पारित गर्दै नयाँ संविधानमा धर्म निरपेक्षता सुनिश्चित गरेको हो ।