३ असोज, काठमाडौँ ।
मन्त्रिपरिषद्को आजको बैठकमा राष्ट्रपति डा रामवरण यादवबाट ‘नेपालको संविधान, २०७२’ घोषणा गर्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवासमा भएको बैठकमा राष्ट्रपति डा यादवले संविधान प्रारम्भ भएको घोषणा गर्ने विषयमा छलफल भएको सूचना तथा सञ्चार प्रविधि मन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिए ।
सभाअध्यक्षबाट प्रमाणित भएको ‘नेपालको संविधान, २०७२’ आज संविधानसभा भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति डा यादवले प्रारम्भ भएको घोषणा गर्ने कार्यक्रम छ ।
बैठकमा भोलि (सोमबार) सरकार र राजनीतिक दलसमेतको सहभागितामा र्याली निकाल्ने विषयमा छलफल हुनुका साथै आवश्यक तयारीका बारेमा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले जानकारी गराएका थिए । छलफलपछि प्रधानमन्त्री सुशील कोइरालाले थप आवश्यक निर्देशनसमेत दिएको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री डा रिजालले बताए ।
बैठकमा भूकम्प पछाडिको पुनःनिर्माणको कार्य चाँडै सम्पादन गर्नका लागि राजनीतिक रुपमा ऐन कानुनी प्रक्रियालाई ध्यानमा राखेर कसरी अगाडि बढ्ने भन्ने बारेमा छलफल भएको थियो ।
सरकारले भूकम्पपछिको पुनःनिर्माणको काम र बाँकी रहेको पुनःस्थानाको काम तदारुकताका साथ अघि बढाउन तयारी गर्ने र त्यसका लागि आवश्यक राजनीतिक समझदारी, कानुनी, संवैधानिक तयारी गर्ने विषयमा समेत छलफल भएको मन्त्री रिजालले बताए । रासस