९ पुस, काठमाडौँ।
सबैभन्दा ठूलो, लोकतान्त्रिक र पुरानो दल आफूलाई दाबी गर्ने कांग्रेस यतिखेर गुटबन्दीमा चुर्लुम्म डुबेको छ । यो पुरानो र लोकतान्त्रिक दलमा एक दुई होइन एक दर्जन बढी गुटको बिगबिगी छ ।
पहिले संस्थापन र अर्को गुट हुने गरेको कांग्रेसमा अहिले नैतैपिच्छे गुट छन् । पहिले कोइराला पक्ष संस्थापन हुंदा यो भित्र दर्जनौं उपगुप थिए । १३ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापति भएपछि अर्को रामचन्द्र पौडेल पक्षमा गुट सेलाएको छैन भने सभापति देउवा खेमामा पनि गुटबन्दीको जालो विकास हुन थालेको छ । देउवा पदमा पुगेपछि शक्तिको स्वार्थले यो खेमामा गुटबन्दी देखिन थालेको हो । कांग्रेस सत्तामा नपुग्न्जेल देउवाले निक्कै बलियो र अनुशासित गुट चलाउने गरे पनि गत वर्ष फागुनमा सभापति भएयताको ६ महिनामा देउवाको यही अनुशासित गुटमा पनि गुटबन्दीको जालो देखिन थालेको छ ।
देउवालाई जसरी पनि महाधिवेशनमा जिताउन भूमिका खेलेका नेताहरुले समयमैं उचित जिम्मेवारी नपाएपछि, आफूले भनेको पद नपाएपछि असन्तुष्टहरु गुटबन्दीमा लागेका हुन् । समयमा पदाधिकारी चयन, केन्द्रीय सदस्य चयन, विभाग गठन, केन्द्रीय कार्यसम्पादन समिति गठन जस्ता विषयलाई पूर्णता नदिँदा देउवालाई आफ्नै बाट पनि सहयोग मिल्न छोडेको हो ।
सभापति देउवाको संस्थापन गुट
यस अघि सभापति नहुंदा देउवाको शक्तिशाली गुट थियो । तर, धेरै नेतालाई आश्वासन दिंदै विजयी भएपछि उनी संस्थापन बन्न पुगे पनि उनले अहिले संस्थापनभन्दा बढी गुटगत व्यवहार देखाउने गरेको आरोप पौडेल पक्षले लगाउने गरेको छ । नेविसंघ, महिला संघ र तरुण दलको महाधिवेशनमा देउवाले संस्थापनकोभन्दा पनि गुटको झल्को दिने गरी उम्मेदवारी दिएको आरोप अर्को पक्षले लगाएको थियो । साथै, महत्वपूर्ण विषयमा छलफल गर्न पनि नेताहरुलाई नबोलाउने तर, आफ्नै गुटको मात्रै बैठक डाक्ने गरेको आरोप अर्को पक्षले लगाउने गरेको छ ।
खुमबहादुरको गुट

फाइल तस्बिर
खुमबहादुर खड्का यसअघि पनि पनि देउवाका सहयोगी मानिन्थे । तर, अहिले भने उनको गुटगत राजनीति निक्कै हावी देखिएको छ । देउवाले गर्ने हरेक राजनीतिक तहका निर्णयमा खड्काले भाग खोज्ने गरेका छन् । पदाधिकारी मनोनयन, केन्द्रीय सदस्य मनोनयन, नेविसंघ, महिला संघ, तरुण दलमा भागबन्डाको आधारमा पदाधिकारी चयन हुंदा आफू पनि एउटा महत्वपूर्ण हिस्सेदार भएको भन्दै भाग खोज्दै आएका छन् । नदिएमा देउवालाई अप्ठ्यारो बनाउने चुनौति उनले दिने गरेका छन् । खड्का पक्षमा शंकर भण्डारी, अजयकुमार चौरसिया, पुष्पा बस्नेत, देवेन्द्रराज कंडेल, मोहन बहादुर बस्नेत जस्ता केन्द्रीय सदस्य छन् ।
पदाधिकारीतर्फ उपसभापति दाबी गर्दै आएका खड्काले यो पद नपाउने भएपछि आफूले भनेका पूर्णबहादुर खड्कालाई महामन्त्री बनाउन सभापति देउवालाई दबाब दिंदै आएका छन् ।
सिटौलाको अर्को गुट

फाइल तस्बिर
१३ औं महाधिवेशनमा सभापतिकै लागि उम्मेदवारी दिएपछि कृष्णप्रसाद सिटौलाकै कारण पहिलो चरणमा कुनै नतिजा ननिस्केपछि सिटौलाले आफूलाई बार्गेनिंगमा राख्न पुगे । पौडेल पक्षलाई सहयोग नगरेर देउवाको पक्षका लागेपछि अहिले सिटौला पक्षले पार्टीका हरेक गतिविधिमा भागबण्डा खोज्दै आएको छ । नेविसंघ, महिला संघ, तररण दल सबैमा सिटौला पक्षले भागबण्डा खोज्दै आएको छ ।
देउवासंग मिलेर महिला संघ र नेविसंघमा महत्वपूर्ण पदाधिकारी हत्याएको सिटौला पक्षले
तरुण दलमा भने पौडेल पक्ष नै पहिले देउवासंग बार्गेनिंग गरेपछि तेस्रो पदमा चित्त बुझाउन बाध्य भयो । आफूलाई तेस्रो विचार समूह भन्न रुचाउने यो पक्षमा प्रभावशाली नेता सिटौलासहित युवा नेताहरु गगन थापा, प्रदीप पौडेल, उमाकान्त चौधरीजस्ता केन्द्रीय सदस्यको साथ छ। आफ्नो पक्षलाई तेस्रो धारको रुपमा विकास गर्दै पार्टीमा पहिलो र दोस्रो शक्तिको होडमा आफूलाई उभ्याउन सिटौलापक्ष क्रियाशील भएर लागेको छ ।
कूलबहादुरहरुको छुट्टै समूह

फाइल तस्बिर
१३ औं महाधिवेशनसम्म अर्को पक्षमा रहे पनि कूलबहादुर गुरुगंहरुको एक समूह महाधिवेशनको मुखैमा देउवा क्याम्पमा आएको थियो । कतिसम्म भने कूलबहादुरकै प्रस्तावमा देउवा सभापतिको उम्मेदवार बनेका थिए । पुराना र इमान्दार नेताको छवि बनाएका यी नेताको साथ र सहयोग पाउंदा आफूले जित्ने भएपछि नै देउवाले महाधिवेशनकै मुखमा यी नेतालाई आफ्नो पक्षमा ल्याएका थिए । पक्षमा ल्याउंदा राम्रै पद दिने आश्वासन दिए पनि छ महिनासम्म कुनै पनि प्रमुख भूमिका नदिएपछि यो पक्ष तीव्र असन्तुष्ट छ ।
महाधिवेशनको मुखमा गुरुगं एक्लै आएका थिएनन् उनीपछि तारानाथ रानाभाट, गोविन्दराज जोशी, चिरञजीवी वाग्ले, लक्ष्मण घिमिरे, विनयध्वज चन्द जस्ता नेताको साथ थियो । १३ औं महाधिवेशनमा गुरुगंबाहेक अरु कुनै पनि नेता केन्द्रीय सदस्यमा जितेनन् । त्यतिबेलैदेखि यी नेताहरु असन्तुष्ट बन्दै आएका थिए । त्यसयता पनि आफ्नो पक्षलाई देउवाले भूमिका नदिएपछि उनीहरुमा असन्तुष्टि छ ।
गोपालमान अर्का सम्भावित गुट
देउवालाई अप्ठ्यारो परेको बेलामा सहयोग गर्दै आएका नेता हुन् गोपालमान श्रेष्ठ । देउवा राजाको हिरासतमा पर्दा फुटेको कांग्रेसलाई नेतृत्व दिने उनै श्रेष्ठ थिए । तर, पुराना, इमान्दार नेताको छवि बनाएका यी नेतालाई पार्टीमा भूमिका नदिएपछि उनी तीव्र असन्तुष्ट छन् । आफूले माग्नेभन्दा पनि आफूनो सक्रियता, बरिष्ठता, निरन्तरता जस्ता पक्षलाई ध्यान दिंदै उपसभापति पाउनुपर्ने पक्षमा उनी छन् । तर, देउवाले उनलाई उपसभापति दिने गरी तयारी गरिरहेका छैनन् । श्रेष्ठले खुलेर गुट चलाएका छैनन् तर,
देउवासंग तीव्र असन्तुष्ट भने छन् ।
यी पनि असन्तुष्ट
मन्त्रीका लागि आकांक्षी भएर पनि नपाएका चन्द्र भण्डारी, मीन विश्वकर्मा, रामहरि खतिवडा, एनपी सावद, उदयशमशेर राणा पनि देउवासंग असन्तुष्ट छन् ।
