२६ वैशाख, पोखरा । स्वास्थ्यमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले समृद्ध नेपालको निर्माण अबको आवश्यकता भएको बताएका छन ।

नेपाली काँग्रेसद्वारा पोखरा लेखनाथ महानगरपालिका–२४ मा आज आयोजित चुनावी सभामा उनले भने – “काँग्रेसले शान्ति र संविधानको प्रतिबद्धता पूरा गरेका कारण समृद्ध नेपाल निमार्ण गर्ने अभियानलाई साकार पार्न स्थानीय तहको निर्वाचनमा काँग्रेसको विजय आवश्यक हुन्छ ।”

केन्द्रीय सदस्य थापाले “सबै अट्ने देश, सबैलाई मिलाएर लैजाने काँग्रेस’ भन्ने नाराका साथ हिमाल, पहाड र तराईलाई एकाकार गर्दै लैजान सक्ने क्षमता केवल काँग्रेसमा छ” भन्दै “यो देश यहाँका सबै वर्ग र समुदायको हो, यो धोती लगाउनेको पनि हो, टोपी लगाउनेको पनि हो, यी सबैलाई मिलाउने क्षमता काँग्रेसमा भएको बताए ।”

स्थानीय आवश्यकता परिपूर्ति गर्दै समृद्ध पोखराको निर्माणको लक्ष्यलाई साकार पार्न काँग्रेसका उम्मेदवारलाई विजयी गराउन सबैमा उनले आग्रह पनि गरे ।

काँग्रेसका पूर्वमहामन्त्री एवम् पूर्वसभामुख तारानाथ रानाभाटले जनतालाई सार्वभौम बनाउनका लागि काँग्रेसले अनवरत सङ्घर्ष गर्दै आएको उल्लेख गर्दै राष्ट्रिय एकता, समुन्नत नेपाल निर्माणका लागि काँग्रेसका उम्मेदवारलाई विजय गराउन आग्रह गरे ।

काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले नेपाली काँग्रेस काममा विश्वास गर्ने पार्टी भएको बताउँदै विभिन्न दलका नाममा मतदातालाई प्रभावित पार्न खोजिने हुँदा त्यसतर्फ सचेत बन्नुपर्ने आवश्यकता औँल्याए ।

काँग्रेसबाट पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख पदका उम्मेदवार रामजी कुँवरले स्मार्ट सिटी निर्माणको लक्ष्यका साथ आफू उम्मेदवार भएको उल्लेख गर्दै महानगरका प्रत्येक बस्ती र टोलका आवश्यकतालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उपप्रमुख पदका उम्मेदवार सरस्वती गुरुङले सबै क्षेत्र, वर्ग र समुदायलाई समेट्ने गरी विकास निर्माणका योजना अघि बढाउने विश्वास व्यक्त गरे ।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, वडाध्यक्षका उम्मेदवार भरतबहादुर अधिकारी, काँग्रेस नेता वेदहरि तिमल्सिनालगायतले समुन्नत पोखरा निर्माणको योजनालाई साकार पार्न काँग्रेसका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी आएका १२५ जना नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । उनीहरूलाई काँग्रेसका पूर्वमहामन्त्री तारानाथ रानाभाटले पार्टीको सदस्यता प्रदान गरी पार्टीमा स्वागत गरेका थिए । रासस