
२४ माघ, काठमाडौं । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारमा आफ्नो पार्टीको उपस्थितिको औचित्य सकिएकोले छिट्टै मन्त्रीहरुलाई फिर्ता बोलाउने बताएका छन् ।
मधेशी मोर्चा टाँडिदै गर्दा र ३७ सिट रहेको राप्रपाले मन्त्री फिर्ता बोलाउने घोषणा गरेपछि प्रचण्ड सरकार धरापमा पर्ने भएको छ ।
आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै लोहनीले सरकारमा राप्रपाको उपस्थिति भए पनि कुनै पनि कुरामा साझेदारी नभएको गुनासो पोखे ।
उनले भने, ‘सरकारको महत्वपूर्ण काम तथा निर्णयहरुमा राप्रपाको कुनै साझेदारी देखिएन त्यसैले सरकारमा रहीरहने कुरा अब स्वीकार गर्न सकिँदैन, यसबारेमा पार्टीभित्र पनि गम्भीर कुरा उठेको छ ।’
डा. लोहनीले आफ्नो पार्टी अब सरकारमा रहने कि नरहने भन्ने बारेमा पार्टीभित्रको कार्य सम्पादन समितिको बैठकले निर्णय गर्ने जनाए । उनले भने, ‘यो सरकारको तौरतरिका हेर्दा अब हाम्रो पार्टी सरकारमा बस्ने औचित्य समाप्त भयो ।’
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारको नियत नै चुनाव गर्ने नभएको आरोप लगाए । डा. लोहनीले भने, ‘संवैधानिक आयोगले अघि सारेको प्रतिवेदनको निहुँ निकालेर अहिले विभिन्न बखेडा झिक्ने काम भैरहेको छ, यो चुनाव पन्छाउने काम हो ।’
उनले संसदमा टेबुल भएको संविधान संशोधन विधेयकको कुनै औचित्य नरहेको दाबी गरे । लोहनीले भने, ‘अहिले अघि सारिएको संशोधनले मुलुकको हित गर्दैन, संशोधनमा उल्लेख गरिएका कतिपय विषयहरुले देशको राष्ट्रिय हित गर्दैन् ।’ उनले ५ नम्बर प्रदेशको सिमांकन हेरफेरको विषय र नागरिकताको प्रावधान गलत भएको टिप्पणी गरे ।