२८ मंसिर, बीरगञ्ज ।
राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले तराइका माग छिटै पूरा हुने बताएका छन् ।
संघीय समावेशी मधेशी गठबन्धनले आयोजना गरेको विरोध सभामा भण्डारीले तराइ मधेशमा चार महिनादेखि जारी आन्दोलन अन्तिम चरणमा रहेको बताउँदै दुई चार दिनमै मधेशको माग पूरा हुने विश्वास व्यक्त गरेका हुन् ।
सभामा नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिकुमार झाले सरकार थाकिसकेको र मधेशीलाई हक अधिकार दिनुको विकल्प नरहेको भन्दै मधेशको माग केही दिनमै सम्बोधन हुने दाबी गरे ।
विरोध सभाका वक्ताले सरकारले आन्दोलनकारीको मागलाई वेवास्ता गरेको भन्दै विश्व जगतको दबाबमा सरकार लचकता अपनाएर मुलुकलाई निकास दिन र मधेशीको माग पूरा गर्न अगाडि बढ्ने विश्वास व्यक्त गरे ।