६ चैत, काठमाडौं । सरकारले मालपोत, विद्युत महशुल र सवारी कर बुझाउन ढिला भएमा लिँदै आएको जरिवाना नलिने भएको छ ।

कोरोना भाइरसको संभावित जोखिम कम गर्नका लागि सरकारले पैसा तिर्न ढिलाई भएपनि विलम्ब शुल्क नलिने निर्णय गरेको हो । मालपोत, विद्युत प्राधिकरण र यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको निकै भीड हुने गर्दछ ।

भीड हुँदा कोरोना भाइरसको संक्रमण हुनसक्ने भएकाले सरकारले शुल्क तिर्न हतार नगर्न आग्रह गरेको हो । गृह मन्त्रालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले यस्तो निर्णय गरेको हो । हिजो मात्रै सरकारले २५ जनाभन्दा बढी मानिस एकठाउँमा भेला नहुन निर्देशन दिएको थियो ।