५ पुस, तुलसीपुर (दाङ)।

तुलसीपुर नगरपालिका– १९ निवासी सावित्रा ढकाल आफ्ना ससुरा शेषमणि गौतमको किरियामा बसेकी छिन ।

गत बिहीबार बेलुका ६७ वर्षीय ससुराको निधन भएको हो । सावित्राका श्रीमान् अशोक पण्डित स्व गौतमका एक मात्र छोरा छन् जो हाल रोजगारीका सिलसिलामा मलेसियामा छन् ।

सात वर्षदेखि रोगले थलिनुभएका ससुराको स्याहारसुसार समेत गरेकी सावित्राले समाजमा रहेको कुसंस्कृतिलाई तोड्दै आफू किरियामा बसेको बताइन ।

उनकी सासूको भने पाँच वर्षअघि नै निधन भइसकेको छ । कोरावस्त्र पहिरेर किरियामा बसेकी सावित्राले ससुरालाई वैदिक परम्पराअनुसार बबईघाटमा दागबत्ती दिएर अन्त्येष्टि गरेकी थिइन । रासस